आन्दोलनरत चलचित्रकर्मीलाई एमाओवादीको स्पष्टीकरण



सेली ब्रेटी नेपाल माघ ७ गते-चलचित्र क्षेत्र संग सम्बन्धित विभिन्न मागसहित आन्दोलनरत आफ्नै पार्टीका चार सदस्यलाई एनेकपा माओवादीले आन्दोलनबारे स्पष्टीकरण लिएको छ । पार्टीकै नेतृत्वको सरकार रहेको अवस्थामा आफ्नै कार्यकर्ता आन्दोलनमा उभिँदा अप्ठ्यारो परेको भन्दै चार जनालाई शनिबार पार्टीको केन्द्रीय कार्यालय, पेरिसडा डाँडामा बोलाइएको हो । विमल पौडेलसहित अग्रज केसी, राजु केसी र मौसमी मल्ल सेनलाई जारी आन्दोलनका बारेमा सोधपुछ गरिएको हो । पार्टीका तर्फबाट चलचित्र हेर्ने इन्चार्ज बलराज तिमिल्सिना र दुई केन्द्रीय सदस्यसहितको टोलीले स्पष्टीकरण लिएका थिए ।विमल पौडेलले भने आन्दोलन जारी रहने बताए । स्पष्टीकरण दिएपछि रिले अनशन भइरहेको चलचित्र विकास बोर्ड पुगेका उनले भने, ‘आमरण अनशन सुरु गरेर आन्दोलन मैले थालेको हुँ । हामीले प्रधानमन्त्री वा मन्त्रीलाई छोएका छैनौं । पार्टीको राज्य समिति बैठकमा समेत यसबारे कुरा भएको रहेछ । तर हामी त फिल्म क्षेत्रको उज्ज्वल भविष्यका लागि लडिरहेका हौं ।’ उनले भोलि सञ्चार सचिवलाई भेटेर सरकारको धारणा बुझ्ने र बाँकी आन्दोलनको स्वरूप तय गर्ने बताए ।