धुर्मुस सुन्तलीको महत्वकांक्षी योजना सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

धुर्मुस सुन्तली फाउण्डेशनले काभ्रेको डाँडागाउँमा एकीकृत नमुना पहरी बस्ती, सिन्धुपाल्चोकको गिराञ्चौरमा गिराञ्चौर एकीकृत नमुना बस्ती र महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती पछि अब ‘नमुना नेपाल’ निर्माण गर्ने भएका छन्। ३ वटा एकीकृत नमुना बस्ती सफलतापूर्वक हस्तान्तरण गरिसकेका उनीहरूले नेपाललाई विश्वमा चिनाउने भन्दै एक महत्वकांक्षी योजना सार्वजनिक गरेका हुन्। सोमबार राजधानीमा आयोजित एक कार्यक्रम माझ उनीहरूले ‘नमुना नेपाल’ निर्माण गर्ने उद्घोष गरेका हुन्। परियोजनाले पुरा नेपालको झल्को दिनेछ र पर्यटन प्रबद्र्धनको लागि महत्वपुर्ण टेवा पुग्नेछ भन्ने आशा राखेका धुर्मुस सुन्तलीले जनाएका छन्।

धुर्मुस सुन्तली फाउन्डेसनका संस्थापकद्धय चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुमुर्स’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अव नेपाललाई विश्व सामू चिनाउन पनि ‘नमुना नेपाल’ निर्माण योजना अघि सार्नु परेको स्पष्ट पारे। फाउन्डेसनले सबै समुदाय, जाति, भाषा, समुदायलाई जोडेर नेपाललाई विश्वमा चिनाउने गरी ‘नमुना नेपाल’ अभियान संचालन गर्ने पनि स्पष्ट पारेको छ । फाउन्डेसनले ‘नमुना नेपाल’ बनाउनका लागि ५ सय देखि १ हजार रोपनी जग्गा उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ।