शिवमको निर्देशनमा ‘सेतो कोट’ बन्ने,पूजा र अशोकको मुख्य भूमिका


सेलिब्रेटी नेपाल। शिवम अधिकारीको लेखन तथा निर्देशनमा चलचित्र ‘सेतो कोट’ निर्माण हुने भएको छ। कोटेश्वर स्थिति महादेवस्थान मन्दिरमा पूजाआजा पश्चात् एक कार्यक्रमका बिच मुहूर्त गर्दै फिल्मको बारेमा जानकारी गराइएको हो । चलचित्रको मुहूर्त सटमा अशोक दर्जी र पूजा शर्माले डाइलग बोल्दै गर्दा नीर शाहले निर्देशन गरे ।

सेतो रङ्ग अभाव भइरहेको समयमा यो चलचित्रले सेतोपना बचाउने अपेक्षा अभिनेता नीर शाहको रहेको छ । अशोक दर्जीले यो टिमसँग काम गर्न उत्साहित रहेको बताउँदै गर्दा पूजा शर्माले आफूले कथा खोल्दिन सक्ने भन्दै धेरै प्रश्न नगर्न आग्रह गरिन् । निर्देशन गर्न बढी मेहनत गर्नुपर्ने भन्दै स्क्रिप्टकै काममा व्यस्त शिवमले यस पटक समय छुट्टाएर निर्देशन गर्न लागेका रहेछन् ।

चलचित्रको कथामा मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई विशेष महत्त्व दिइएको छ। नेपाली चलचित्रमा कमै उठान गरिने विषयलाई मनोरञ्जनात्मक तथा प्रभावशाली सिनेम्याटिक शैलीमा प्रस्तुत गर्ने लक्ष्य चलचित्रको रहेको छ। कथाको मूल भाव र घटनाक्रमलाई रहस्यपूर्ण राख्दै दर्शकलाई सोच्न, महसुस गर्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने विश्वास निर्माण पक्षले लिएको छ।

मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता मिनु शर्मा तथा सन्देश थापा रहेका छन् भने कार्यकारी निर्माता फणीन्द्र तामाङ हुन्। चलचित्रमा नीर,अशोक, पूजा, सुमित्रा संगै पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे, सुप्रिया शर्मालगायतको अभिनय रहनेछ।

चलचित्रको छायाङ्कन काठमाडौँ, मकवानपुरलगायत नेपालको ग्रामीण भेगमा गरिनेछ। चलचित्रको छायाङ्कन सौरभ लामाले गर्नेछन् भने सम्पादन बन्दे प्रसादको रहनेछ। हेड अफ प्रोडक्सन अरुण रेग्मी र मुख्य सहायक निर्देशक नवराज शर्मा रहेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.