पहिलो संस्करणको काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ४० चलचित्र प्रदर्शन


सेलिब्रेटी नेपाल। काठमाडौं महानगरपालिकाको आयोजनामा पहिलोपटक सञ्चालन भएको ‘काठमाडौं फिल्म फेस्टिभल’ शनिबार सम्पन्न भएको छ। बौद्धस्थित तारागाउँ नेक्स्टको एम्फिथिएटरमा आयोजित समापन समारोहसँगै तीनदिने महोत्सवको औपचारिक समापन गरिएको हो।

कार्तिक १३ गते वसन्तपुरबाट सम्पदा यात्रासहित सुरु भएको महोत्सवमा नेपाली चलचित्रका विभिन्न विधासहित अन्तर्राष्ट्रिय चलचित्रलाई समेत समेटिएको थियो। महोत्सवमा पुराना नेपाली चलचित्र ‘के घर के डेरा’ र ‘कुमारी’ लगायत सर्ट भिडियो, नेपाली पानोरामा तथा अन्तर्राष्ट्रिय पानोरामाअन्तर्गतका ४० वटा चलचित्र प्रदर्शन गरिएका थिए।

समापन समारोहमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले युनेस्कोको रचनात्मक सहर सञ्जालमा आबद्ध भएपछि चार वर्षभित्र फिल्म फेस्टिभल आयोजना गर्ने महानगरको प्रतिबद्धता पहिलो संस्करणमार्फत पूरा भएको बताइन्। उनले पहिलो संस्करणबाट प्राप्त अनुभव, सुझाव र सिकाइलाई आत्मसात् गर्दै आगामी संस्करणलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले महानगरपालिकाले सुरु गरेको यस पहललाई नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा चित्रण गरे। उनले महोत्सवको अनुभवलाई अभिलेखीकरण गर्दै आगामी पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

त्यस्तै, अभिनेता राजेश हमालले चलचित्र समाजका कथा, भावना र यथार्थ प्रस्तुत गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै महानगरपालिकाको यो प्रयासले नेपाली चलचित्र उद्योगको विकास र प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

सांघाई फिल्म एकेडेमीका विशिष्ट प्राध्यापक मार्को मुलरले पनि नेपालमा चलचित्र क्षेत्रको सम्भावना व्यापक रहेको बताए। उनले यस्ता महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय जगत्सँग जोड्नुका साथै विश्व चलचित्र क्षेत्रलाई समेत लाभ पुर्‍याउन सक्ने धारणा राखे।

पहिलो संस्करणबाटै नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रलाई एउटै मञ्चमा जोड्ने प्रयास गरेको काठमाडौं फिल्म फेस्टिभलले आगामी दिनमा नेपाली चलचित्रको प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानमा थप भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.