
सेलिब्रेटी नेपाल । यस वर्षको प्रतीक्षित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ को ट्रेलर सार्वजनिक गरिएको छ। आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आइएमईको संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन्।
करिब चार मिनेट लामो ट्रेलर रमाइलो र मनोरञ्जनात्मक बनेको छ। ट्रेलरमा दीपकराज गिरीको पात्र सन्तान प्राप्तिका लागि दौडधुप गरिरहेको देख्न सकिन्छ। पारिवारिक सम्बन्ध र हास्यरसलाई समेटिएको ट्रेलरले चलचित्रको कथाप्रति दर्शकको कौतूहल बढाउने संकेत गरेको छ।
चलचित्रको कथा निर्देशक दीपेन्द्र लामा र दीपकराज गिरीले संयुक्त रूपमा तयार पारेका हुन् भने पटकथा तथा संवाद दीपकराज गिरीले लेखेका छन्। चलचित्रमा दीपाश्री निरौला सल्लाहकारका रूपमा रहेकी छन्।
चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईसँगै कर्मा, रिहान गिरी, म्याक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे, नवीन लम्साल, निर्मल शर्मा, दीपाश्री निरौलालगायत कलाकारको अभिनय रहेको छ। निर्मल शर्मा र सुरज बम ठकुरी चलचित्रका कार्यकारी निर्माता हुन्।
‘छ माया छपक्कै २’ आगामी असोज ३१ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आउनेछ।





