विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा


सेलिब्रेटी नेपाल । नेपाली चलचित्र क्षेत्रमा एक्सनप्रधान चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक गरिएको छ ।

मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा मुख्य आकर्षणका रूपमा विराज भट्ट र समीर भट्टलाई प्रस्तुत गरिएको छ । चलचित्रको सार्वजनिक ट्रेलरले कथावस्तुका सबै पक्ष खुलाएको छैन, तर ट्रेलरमा द्वन्द्व, शक्तिशाली संवाद, अपहरण, उद्धार र बदलाको झलक देख्न सकिन्छ ।

चलचित्रमा अभिनेता अनुपविक्रम शाही खलपात्रका रूपमा प्रस्तुत भएका छन् । नेपाली चलचित्रमा नकारात्मक भूमिकामार्फत प्रभाव छाड्न सफल शाहीको उपस्थितिले नायकहरूको संघर्षलाई थप रोचक बनाउने अपेक्षा गर्न सकिन्छ ।

चलचित्रमा विराज भट्ट, समीर भट्ट र अनुपविक्रम शाहीसँगै प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ । कृशु शाही (काफिया) र वर्षा इटनी पनि चलचित्रमा देखिनेछन् ।

‘१२ गाउँ २’को निर्देशन विराज भट्टले गरेका हुन् भने कथा तथा पटकथा सन्तोष सरकारको रहेको छ। चलचित्रको छायाङ्कन महेश पौडेलले गरेका छन् । सम्पादन बन्दे प्रसादको रहेको चलचित्रमा युग भुसाल र डीपी खनालको संगीत छ । त्यस्तै, रामजी लामिछाने र सियोन श्रेष्ठले नृत्य निर्देशन गरेका छन् भने स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन छ ।

‘१२ गाउँ २’ दशैंको अवसर पारेर असोज ३० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.