
सेलिब्रेटी नेपाल। आमा र सन्तानबीचको निःस्वार्थ प्रेम, पारिवारिक विछोड र आमाको खोजीमा छोराले गर्ने सङ्घर्षलाई मुख्य विषय बनाएको नेपाली चलचित्र ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक गरिएको छ। दसैंको अवसर पारेर यही शुक्रबार अर्थात् असोज ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको करिब पाँच मिनेट लामो ट्रेलरले दर्शकमाझ भावनात्मक उत्सुकता बढाएको छ।
ट्रेलरमा आमाप्रतिको सन्तानको माया, पारिवारिक सम्बन्धमा आउने उतारचढाव र वियोगको पीडालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। कुकुरको बच्चामार्फत आमा र सन्तानबीचको सम्बन्धलाई प्रतीकात्मक रूपमा देखाउँदै अघि बढ्ने ट्रेलरले आमाको खोजीमा छोराले गर्ने सङ्घर्षलाई केन्द्रमा राखेको छ। ट्रेलरको अन्त्यमा अभिनेता पल शाहलाई मानसिक सन्तुलन गुमाएको अवस्थामा देखाइएको दृश्यले चलचित्रको कथालाई थप रहस्यमय र भावुक बनाएको छ।
चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्रमा विपना थापा, पल शाह, आकाश श्रेष्ठ, मलिका महत, साइग्रेस पोखरेल, निकिता आचार्य, सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडा, बेगम नेपाली लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा दिवंगत भारतीय अभिनेता प्रदीप रावतको पनि महत्त्वपूर्ण भूमिका छ। ‘गजनी’ फिल्मका खलनायकका रूपमा परिचित रावतको यो अन्तिम नेपाली चलचित्रसमेत हो।
आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा निर्देशक चन्द्र पन्तले नै तयार पारेका हुन् भने संवाद सन्तोष भट्टले लेखेका छन्। चलचित्रमा नवराज उप्रेतीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, एलिस कार्कीको पार्श्व सङ्गीत तथा राजेन्द्र मोक्तानको रङ संयोजन रहेको छ।
भावनात्मक कथावस्तु र कलाकारको अभिनयलाई प्राथमिकतामा राखेको ‘आ बाट आमा २’ को ट्रेलरले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ। पारिवारिक सम्बन्ध र आमाप्रतिको प्रेमलाई पर्दामा उतारिएको यस चलचित्रले प्रदर्शनपछि दर्शकको कस्तो प्रतिक्रिया पाउँछ र बक्स अफिसमा कस्तो प्रदर्शन गर्छ, त्यो भने हेर्न बाँकी छ।





