
सेलिब्रेटी नेपाल। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन्। महोत्तरीको बर्दिबासमा सम्पन्न प्रतिष्ठानको ९औँ केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा शर्माको मात्र उम्मेदवारी परेपछि उनी शुक्रबार निर्विरोध चयन भएका हुन्।
लामो समयदेखि नेपाली लोकसङ्गीतमा सक्रिय शर्माले मौलिक लोकभाका, व्यङ्ग्यात्मक शैली र जनजीवनसँग जोडिएका गीतमार्फत श्रोता तथा दर्शकमाझ छुट्टै पहिचान बनाएका छन्। प्रतिष्ठानका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनी यसअघि वरिष्ठ उपाध्यक्षको भूमिकामा थिए। अध्यक्षमा निर्विरोध निर्वाचित भएसँगै उनको नेतृत्वमा प्रतिष्ठानले लोक तथा दोहोरी गीतसङ्गीतको संरक्षण, प्रवर्द्धन र विकासमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा कोषाध्यक्षमा जुना शिरिष पनि निर्विरोध निर्वाचित भएका छन्।
यसैबीच, पशुपति शर्मा अब नेपाली चलचित्रमा पनि अभिनेताका रूपमा दर्शकमाझ आउने तयारीमा छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत अभिनय यात्रालाई अघि बढाउँदै छन्।
निर्देशक अमरदीप सापकोटाका अनुसार चलचित्रको छायांकन अब अन्तिम चरणमा पुगेको छ। निर्माता रघुनाथ सापकोटाले निर्माण गरेको यस चलचित्रलाई कमेडी जनरामा तयार गरिएको हो। चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै छिट्टै प्रदर्शन मिति घोषणा गर्ने तयारी भइरहेको निर्माता सापकोटाले जानकारी दिएका छन्।
लोकसङ्गीतमा स्थापित पहिचान बनाएका पशुपति शर्माको प्रतिष्ठानको नेतृत्वसँगै चलचित्र अभिनयमा समेत सक्रियता बढ्दै जाँदा उनका आगामी गतिविधिप्रति दर्शक तथा शुभेच्छुकको चासो बढ्ने देखिन्छ।





