
सेलिब्रेटी नेपाल। अभिनेता विराज भट्टको निर्देशन तथा निर्माणमा तयार भएको चलचित्र ‘१२ गाउँ २’ को अर्को गीत ‘रेशमी रुमाल’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा विराज भट्ट र वर्षा इटानीको जोडीलाई केन्द्रमा राखिएको छ । सार्वजनिक गीतमा निशान भट्टराई र समिक्षा अधिकारीको स्वर,डिपी खनालको शब्द र देवेन्द्र बरालको संगीत रहेको छ। ‘१२ गाउँ २’को अघिल्ला सामग्रीभन्दा फरक अनुभूति दिने प्रयास गीतमा देखिन्छ । चलचित्रलाई एक्सनको आवरणमा प्रस्तुत गरिए पनि यसको कथामा प्रेम र सम्बन्धको पाटो पनि महत्वपूर्ण रहेको संकेत गीतहरूले दिइरहेका छन् ।
चलचित्रमा बिराज, समीर, कृशु र वर्षाका अलावा अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारको अभिनय छ । यही चलचित्रबाटबाट कृशु शाही (काफिया) र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।
दशैंको अवसरमा असोज ३० गते प्रदर्शनमा आउन लागेको ‘१२ गाउँ २’ले नेपाली फिल्मको ठूलो चाड मानिने दशैंमा दर्शक तान्न यही मिश्रणलाई आफ्नो प्रमुख हतियार बनाउने देखिन्छ । सिनेमामा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।




