
सेलिब्रेटी नेपाल । मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । फस्र्टलुक पोस्टरमार्फत पाँच पाण्डव चिनाएको निर्माणपक्षले दोस्रो पोस्टरमार्फत द्रोपदी रिभिल गरेको छ ।
‘पाँच पाण्डव’मा द्रोपदीको भूमिकामा इभा गिरी देखिएकी छन् । रातो भेषमा हल्का गहनासहित सुन्दर देखिएकी द्रोपदीको लुक्सले दर्शकको ध्यान खिच्छ । महाभारतकी द्रोपदीको झल्को दिने रातो सोल्जर कट ब्लाउज र रातै सारीमा देखिएकी इभाको लुक्सले पोस्टरलाई थप सुन्दर बनाएको छ ।
पृष्ठभूमिमा चलचित्रका पाँच पाण्डव छन् । निर्देशक वसन्त निरौलाले इभा गिरीको द्रोपदी रुप दर्शकले मन पराउने विश्वास व्यक्त गरे । “हामीले यो सिनेमाका इभालाई द्रौपदीको क्यारेक्टरमा लिएका छौँ,” उनले भने, “जसरी उहाँ युवा पुस्तामा लोकप्रिय हुनुहुन्छ, हाम्रो सिनेमाको क्यारेक्टरमा पनि त्यस्तै रुचाइनु हुन्छ भन्ने हाम्रो विश्वास छ ।”
तिहारको छेको पारेर कार्तिक २० देखि रिलिज हुने चलचित्र ‘पाँच पाण्डव’को अहिले पोस्ट प्रोडक्सन अन्तिम चरणमा छ । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन् ।
हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला ‘पाँच पाण्डव’को भूमिकामा छन् । त्यसैगरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने, रितेश पौडेल लगायतको पनि मुख्य भूमिका रहेको छ ।
यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।
‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन् । गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । ‘पाँच पाण्डव’लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।




