‘दृश्यम ३’ ३ दिनमै २७२ करोड पार


एजेन्सी । अजय देवगण स्टारर प्रतीक्षित बलिउड फिल्म ‘दृश्यम ३ : द कन्क्लुजन’ अहिले चर्चामा छ। विजय सालगाउँकरको कथा समेटिएको फिल्म अक्टोबर २, २०२६ मा विश्वभरका सिनेमाघरमा रिलिज भएको हो। यो ‘दृश्यम’ फ्रेन्चाइजको हिन्दी संस्करणको तेस्रो तथा अन्तिम अध्यायका रूपमा प्रस्तुत गरिएको छ।

अभिषेक पाठकको निर्देशनमा बनेको फिल्ममा अजय देवगण पुनः विजय सालगाउँकरको भूमिकामा देखिएका छन्। तब्बूले आईजी मीरा देशमुख र श्रिया सरनले नन्दिनीको भूमिका दोहोर्‍याएका छन्। यसपटक प्रकाश राज र जयदीप अहलावत नयाँ पात्रका रूपमा फिल्ममा जोडिएका छन्।

रिलिजअघि नै चर्चामा रहेको फिल्मले प्रदर्शनपछि पनि दर्शकको राम्रो साथ पाइरहेको छ। पछिल्लो बक्स अफिस रिपोर्टअनुसार पहिलो तीन दिनमै फिल्मले भारतमा १७६.५० करोड रुपैयाँ नेट र विश्वभर २७२.८० करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यससँगै ‘दृश्यम ३’ ले फ्रेन्चाइजकै अघिल्ला दुई फिल्मको ओपनिङ विकेन्ड प्रदर्शनलाई निकै पछाडि पारेको छ।

फिल्मको मुख्य आकर्षण भनेकै विजय सालगाउँकरको परिवार जोगाउने संघर्ष र विगतमा लुकाइएको रहस्य फेरि सतहमा आउनु हो। समीक्षक तथा दर्शक प्रतिक्रियामा फिल्मको सस्पेन्स, ट्विस्ट र क्लाइमेक्सलाई विशेष चर्चा गरिएको छ।

निर्माण पक्षले हिन्दी संस्करणलाई मलयालम मूल कथाको सामान्य पुनर्कथनभन्दा फरक बनाउने संकेत दिएको थियो। निर्देशक अभिषेक पाठकका अनुसार फिल्मको अन्त्यमा पनि केही परिवर्तन गरिएको छ, जसले हिन्दी संस्करणलाई आफ्नै शैलीमा प्रस्तुत गरेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.