
सेलिब्रेटी नेपाल। निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को गीत ‘थाक खोला’ सार्वजनिक भएको छ । सिनेमा निर्माण टिमले सोमबार बाँसुरी फिल्मस्को अफिसियल युट्युबमार्फत ‘थाक खोला’ बोलको गीत सार्वजनिक गरेको हो ।
कालीप्रसाद बास्कोटाको स्वर रहेको गीत उनकै शब्द र संगीत छ । गीतको मिक्सिङ तथा मास्टरिङ, संगीत संयोजन, गिटारवादन रिकेश गुरुङ किजको रहेको छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङ फिचर्ड छन् । भिडियोमा दयाहाङको मिरुना, सिर्जना र रिश्मासँगको रमाइलो नोकझोक, प्रेम र सम्बन्धका भावनात्मक पाटोलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । तीनै जनासँग दयाहाङको प्रेम र उनीहरूबीचको रमाइलो नोकझोकले गीतको भिडियो मनोरञ्जनसँगै सिनेमाको कथाप्रति कौतुहलता पनि बढाएको छ ।
भिडियोको अर्को प्रमुख आकर्षण भनेको थाक खोलादेखि सेताम्य हिमाल र हरियाली डाँडापाखासम्मका मनमोहक प्राकृतिक दृश्य हुन् । यी दृश्यहरूले गीतको भाव र कथालाई अझ सुन्दर तथा जीवन्त बनाएको छ । विशेषगरी भिडियोमा छुट्टै नृत्य वा कोरियोग्राफीलाई प्राथमिकता दिइएको छैन । सिनेमाकै कथाशैलीलाई निरन्तरता दिँदै पात्रहरूको सम्बन्ध, प्रेम, नोकझोक र भावनालाई कथामार्फत प्रस्तुत गरिएको छ ।
यसअघि सिनेमाको टिजर सार्वजनिक गरिएको थियो । टिजरले छोटो समयमै लाखौ भ्युज बटुल्नुका साथै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । टिजरमा धेरै दर्शकले अभिनेत्री मिरुना मगरको खोजी गरेका थिए । सिनेमाको गीतमा भने उनी देखिएकी छन् ।
सिनेमा यस वर्ष दशैंको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ । सिनेमामा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ ।




