
सेलिब्रेटी नेपाल । निर्देशक तथा अभिनेता माओत्से गुरुङको निर्देशनमा बनेको चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ। प्रदर्शनको चौथो हप्तासम्म आइपुग्दा पनि चलचित्रले पाउँदै आएको शो र दर्शकको उपस्थितिमा उल्लेख्य कमी आएको छैन।
निर्माण पक्षका अनुसार चलचित्रले हालसम्म ८ करोड ५० लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ। चौथो हप्ताको पहिलो दिन शुक्रबार ‘पेन्सन पट्टा’ले खल्ती एपमा ९२ शो पाएको निर्माण पक्षले जनाएको छ।
चौथो हप्तामा प्रवेश गरिसकेको चलचित्रले नयाँ रिलिज भएका चलचित्रको तुलनामा करिब तीन गुणा बढी शो पाउनु आफ्नो प्रदर्शन यात्राको महत्वपूर्ण उपलब्धि भएको निर्माण पक्षको दाबी छ। पछिल्ला साताहरूमा नयाँ चलचित्रहरू प्रदर्शनमा आइरहे पनि ‘पेन्सन पट्टा’ले भने आफ्नो शो र दर्शकको उपस्थिति कायम राख्न सफल भएको जनाएको छ।
चौथो हप्तामा प्रवेश गरेको अवसरमा चलचित्रको सम्पूर्ण टिम शुक्रबार काठमाडौंमा भेला भएको थियो। मण्डला थिएटरमा आयोजित ‘मीट एन्ड ग्रीट’ तथा पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका कलाकार तथा निर्माण टिमले सञ्चारकर्मीसँग चलचित्रको सफलता, दर्शकको प्रतिक्रिया र निर्माण अनुभवबारे कुराकानी गरे।
रिलिजको चौथो हप्तामा प्रवेश गरेपछि चलचित्रको सम्पूर्ण टिम एकसाथ काठमाडौंमा भेला भएर पत्रकारसँग प्रत्यक्ष भेटघाट गरेको यो पहिलो कार्यक्रम भएको निर्माण पक्षले जनाएको छ।
‘दुःख र मेहनत गरेर बनाएको फिल्म चल्दो रहेछ’ : माओत्से गुरुङ
कार्यक्रममा निर्देशक, अभिनेता तथा निर्माता माओत्से गुरुङले ‘पेन्सन पट्टा’को सफलताले आफूहरूको मेहनतलाई प्रमाणित गरेको बताए।
दुःख र मेहनतका साथ निर्माण गरिएको चलचित्रलाई दर्शकले माया र साथ दिँदा आफूहरू उत्साहित भएको उनको भनाइ थियो।
“मेहनत गरेर बनाएको फिल्म चल्छ र दर्शकले हेर्छन् भन्ने कुरा ‘पेन्सन पट्टा’ले प्रमाणित गरेको छ,” गुरुङले भने।
चौथो हप्तासम्म पनि दर्शकको साथ पाइरहनु निर्माण टिमका लागि ठूलो उपलब्धि भएको उनले बताए।
‘स्टारडमभन्दा कथा बलियो हुन्छ’ : दयाहाङ राई
कार्यक्रममा अभिनेता दयाहाङ राईलाई चलचित्र चल्नका लागि कलाकारको स्टारडम महत्वपूर्ण हुन्छ कि कथा भन्ने प्रश्न गरिएको थियो।
जवाफमा उनले स्टारडमभन्दा कथा नै बलियो हुने धारणा राखे। उनका अनुसार कलाकारलाई स्टार बनाउने आधारसमेत कथा नै हो।
“कथाले नै कलाकारलाई स्टार बनाउने भएकाले अन्ततः कथा नै बलियो हुन्छ। कथा बलियो भएपछि फिल्म चल्छ। स्टारडमले फिल्मलाई केही हदसम्म सपोर्ट गर्ने मात्र हो,” दयाहाङले भने।
उनको भनाइ ‘पेन्सन पट्टा’को सफलतासँग पनि जोडिएको देखिन्छ। कलाकारको लोकप्रियतासँगै चलचित्रको कथा र प्रस्तुतिले दर्शकलाई हलसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो।
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको ‘पेन्सन पट्टा’ले पहिलो सातादेखि नै दर्शकको साथ पाउँदै आएको छ। दोस्रो र तेस्रो सातामा पनि चलचित्रले आफ्नो शो संख्या मजबुत राखेको थियो।
चौथो हप्ताको पहिलो दिनमै ९२ शो पाएसँगै ‘पेन्सन पट्टा’को प्रदर्शन यात्रा अझै बलियो रूपमा अघि बढिरहेको निर्माण पक्षको दाबी छ।


