
काठमाडौं । लेखक तथा निर्देशक नबिन पन्तको आगामी चलचित्र ‘बाकस’ मा अभिनेता भोलाराज सापकोटा र सुपला सापकोटा अनुबन्ध भएका छन्। दुई कलाकारको प्रवेशसँगै निर्माण पक्षले चलचित्रलाई छायांकनतर्फ लैजाने तयारी तीव्र बनाएको छ।
निर्देशक पन्तका अनुसार चलचित्रको प्रमुख कलाकारको टिम लगभग तय भइसकेको छ। केही कलाकार तथा प्राविधिकको छनोट भने अन्तिम चरणमा रहेको उनले बताए।
“फिल्मका लागि कलाकारहरूको टिम करिब–करिब पूरा भइसकेको छ। केही कलाकार तथा प्राविधिकको छनोट अन्तिम टुंगो लगाउने क्रममा छ। सबै तयारी पूरा गरेर दसैंपछि छायांकनमा जाने योजना बनाएका छौँ,” निर्देशक पन्तले बताए।
यसअघि चलचित्रमा अभिनेत्री विपना थापा, वर्षा राउत र अभिनेता महेश त्रिपाठी अनुबन्ध भइसकेका छन्। नयाँ कलाकारहरूको प्रवेशसँगै ‘बाकस’को कलाकार टोली अझ बलियो बनेको निर्माण पक्षको भनाइ छ।
चलचित्रको निर्माण सुजिता चौलागाईंले गर्नेछिन्। छत्रबहादुर खड्का सह–निर्माता तथा धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता रहेका छन्।
चलचित्रमा दीपक शर्मा र सनम पुरुष राईको संगीत रहनेछ भने द्वन्द्व निर्देशन किरण दाहालले गर्नेछन्।
निर्देशक पन्तकै लेखन रहेको ‘बाकस’लाई सामाजिक कथावस्तु र मनोरञ्जनको संयोजनमा प्रस्तुत गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ। चलचित्रको छायांकन दसैंपछि सुरु गर्ने तयारी छ।


