नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६’ को ट्रेलर सार्वजनिक

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका भुटानी तथा नेपाली निर्माता सहभागी थिए


सेलिब्रेटी नेपाल । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

चलचित्र आगामी असोज २३ गते अर्थात् अक्टोबर ९ देखि नेपाल र भुटानका हलमा प्रदर्शनमा आउनेछ। ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका भुटानी तथा नेपाली निर्माता सहभागी थिए भने कार्यक्रममा सहभागी हुन भुटानबाट १६ सदस्यीय टोलीसमेत नेपाल आएको थियो।

सार्वजनिक ट्रेलरमा भुटानको एक जलविद्युत् सुरुङभित्र भएको हताहतीको घटनापछि उत्पन्न परिस्थितिलाई प्रस्तुत गरिएको छ। डिजास्टर जनरामा निर्माण भएको चलचित्र भुटानमा घटेका वास्तविक घटनाबाट प्रेरित रहेको निर्माण टिमले जनाएको छ। चलचित्रलाई कृत्रिम सेटमा मात्र सीमित नराखी कथालाई प्रेरणा दिएको भुटानस्थित वास्तविक सुरुङभित्र समेत महत्वपूर्ण दृश्यको छायांकन गरिएको छ।

चलचित्रको छायांकन करिब १०० दिनसम्म गरिएको थियो। कथाको भौगोलिक परिवेश र दृश्यात्मक आवश्यकतालाई ध्यानमा राखेर लामो समयसम्म गरिएको छायांकनले निर्माण टिमको विस्तृत तयारी र प्रतिबद्धता देखाउने निर्माण पक्षको भनाइ छ। ट्रेलरमा सुरुङभित्रको दुर्घटना, त्यसपछि सिर्जना हुने संकट र त्यसबाट उत्पन्न परिस्थितिलाई केन्द्रमा राखिएको छ। दृश्य प्रभाव तथा भीएफएक्समा गरिएको कामले चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको स्वरूप दिने प्रयास गरिएको देखिन्छ।

‘टनेल २६’लाई सङ्गे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेका हुन्। चलचित्रको निर्माणमा दोर्जी वाङ्चुक नेतृत्वको डोर्जिस प्रोडक्सन, प्रशान्त कुमार गुप्ता तथा कृष्ण गुप्ताको नेतृत्वको रेल्टिक पिक्चर्स, भुटान सरकारअन्तर्गतको DoMCIIP तथा निर्देशक डीडी किन्लेको रोलिङ इमेज पिक्चर्सको सहकार्य रहेको छ। चलचित्रका कार्यकारी निर्माता दोर्जी वाङ्चुक हुन् भने नेपाली अभिनेता प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा जोडिएका छन्। खड्काले चलचित्रको रचनात्मक तथा कलात्मक विकासमा समेत योगदान दिएका छन्।

चलचित्रको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्। यसमा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायतका कलाकारको अभिनय रहेको छ। प्रदीपका लागि ‘टनेल २६’ चौथो निर्माण सहकार्य हो। यसअघि उनले ‘स्केप’, ‘ठुलो मान्छे’ र ‘एक्लो’मा निर्माण सहकार्य गरेका थिए।

Copyright © 2012 - 2026 | All Right Reserved.