
काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी–हरर चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ असोज २३ गते अर्थात् अक्टोबर ९ बाट नेपाल र भुटानका हलमा प्रदर्शन हुने भएको छ।
निर्माण टिमले शनिबार चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। चलचित्रको ट्रेलर भने सेप्टेम्बर २२ मा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गरिने जनाइएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा भुटानका कलाकार तथा निर्माण टोलीसमेत सहभागी हुनेछन्।
संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको चलचित्रमा नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहभागिता रहेको छ। निर्माणमा निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, संगय छेल्ट्रिम र दोर्जी वाङ्चुकलगायतको सहकार्य छ।
डीडी किन्लेको लेखन, निर्देशन तथा सम्पादन रहेको चलचित्रमा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, अन्ना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादा मुख्य भूमिकामा छन्।
सार्वजनिक पोस्टरमा रहस्यमय सुरुङ र त्यस वरपरका पात्रलाई प्रस्तुत गरिएको छ। ‘द कर्स बिनिथ द माउन्टेन’ अर्थात् ‘पहाडमुनिको श्राप’लाई कथाको मुख्य आधार बनाइएको चलचित्रले जम्बी र हररको रोमाञ्चक संसार प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा छन्। ‘टनेल २६’ प्रदीपको चौथो निर्माण सहकार्य हो। यसअघि उनले ‘स्केप’, ‘ठुलो मान्छे’ र ‘एक्लो’मा निर्माण सहकार्य गरेका थिए।
दीर्घ गुरुङ र संगय टी. तेन्जिङको छायांकन रहेको चलचित्रमा राजु तामाङ एक्सन निर्देशक छन्। संगीत तथा ध्वनि सम्बन्धी काम थाइल्यान्डमा गरिएको छ भने चर्चित संगीतकार तेर्डसाक जानपानले पृष्ठभूमि संगीत तयार पारेका छन्।
नेपाल र भुटानमा प्रदर्शनपछि चलचित्रलाई एसिया, उत्तर अमेरिका लगायतका अन्तर्राष्ट्रिय बजारमा समेत लैजाने तयारी निर्माण टिमको छ।


