
सेलिब्रेटी नेपाल। नेपाली चलचित्रको लोकप्रिय फ्रेन्चाइज ‘कबड्डी’को पाँचौँ शृङ्खला ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
पोस्टरमा फिल्मका चर्चित पात्र काजी (दयाहाङ राई), बीके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ)लाई प्रस्तुत गरिएको छ। काजी पार्कको कुर्सीमा क्रिकेट ब्याट समातेर गम्भीर मुद्रामा देखिएका छन् भने उनलाई बीके र छन्त्यालले नियालिरहेको दृश्य पोस्टरमा देखिन्छ। पोस्टरले फिल्मको कथाप्रति दर्शकमा कौतूहलता थपेको छ।
‘कबड्डी’ फ्रेन्चाइजका यसअघिका चारवटै शृङ्खला बक्स अफिसमा सफल भएका छन्। चौथो भागलाई ‘फाइनल म्याच’का रूपमा प्रस्तुत गरिएको भए पनि पात्रहरूको कथा पूर्ण रूपमा टुंगिन नसकेको र दर्शकको मागसमेत बढ्दै गएपछि पाँचौँ शृङ्खला निर्माण गरिएको निर्देशक रामबाबु गुरुङले बताएका छन्। उनका अनुसार यो फिल्म केवल ब्रान्डको निरन्तरता वा व्यावसायिक उद्देश्यले नभई कथाको आवश्यकताअनुसार तयार गरिएको हो।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मको लेखन तथा निर्देशन रामबाबु गुरुङले गरेका हुन्। फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंलगायतको अभिनय रहेको छ।
निर्देशक गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले फिल्ममा लगानी गरेका छन्। सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ।
सोमनाथ खनाल र तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा छन्। फिल्मलाई नेपालमा ब्याङ्कटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले वितरण गर्नेछ भने विदेश वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ।


