
सेलिब्रेटी नेपाल । गुरुङ समुदायको इतिहास, संस्कृति, सामाजिक जीवन र परम्परालाई कथावस्तु बनाउँदै चलचित्र ‘बुकी फूल’ निर्माण हुने भएको छ। कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा गुरुङ परम्पराअनुसार चलचित्रको शुभमुहूर्त गरिएको छ।
बेदबहादुर गुरुङ ‘श्याम’को परिकल्पना तथा निर्माण र ओमप्रकाश गुरुङको निर्देशनमा बन्न लागेको चलचित्र ‘बुकी फूल’मा गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथाको केन्द्रमा राखिने निर्माण पक्षले जनाएको छ।
चलचित्रको अधिकांश छायांकन कास्कीको सिक्लेस तथा आसपासका क्षेत्रमा गरिने भएको छ। शुभमुहूर्त कार्यक्रममा चलचित्र निर्देशक नवीन सुब्बा, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
चलचित्रमा दयाहाङ राई, संस्कृति गुरुङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, टीकाराम घले, ओसिन गुरुङ, लालशोभा गुरुङ, मनबहादुर गुरुङ, बेदबहादुर गुरुङ लगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ।
सुसन प्रजापतिले छायांकन गर्ने चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन्। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन करिब ३५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।


