
काठमाडौं । पछिल्लो समय नेपालमा विभिन्न शैलीका रियालिटी शो निर्माण तथा प्रसारण हुने क्रम बढ्दो छ। यही क्रममा अन्य रियालिटी शोभन्दा केही फरक र साहसिक शैलीको नयाँ शो ‘द हिमालयन भिल्ला’ प्रसारणमा आउने भएको छ।
गायन, नृत्य तथा कमेडीमा आधारित रियालिटी शोहरूले दर्शकमाझ राम्रो स्थान बनाइरहेका बेला ‘द हिमालयन भिल्ला’ भने केही फरक अवधारणासहित निर्माण गर्न लागिएको निर्माण टिमले जनाएको छ। शोका टिम सदस्य सोहज खानका अनुसार यो एडभेन्चर तथा मनोरञ्जनलाई केन्द्रमा राखेर तयार गरिनेछ।
शोमा लोकप्रिय अभिनेता प्रशान्त ताम्राकार र मिस युनिभर्स सोफिया भुजेलले होस्टको भूमिका निर्वाह गर्नेछन्। ‘द हिमालयन भिल्ला’ का बारेमा थप जानकारी केही दिनमै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।
यसैबीच, शोको प्रसारणका लागि ओएसआर डिजिटलका ओमप्रकाश अग्रवाल र ‘द हिमालयन भिल्ला’ निर्माण टिमबीच सोमबार औपचारिक सम्झौता भएको छ।


