
पोखरा । अभिनेता दयाहाङ राईका लागि ‘पेन्सन पट्टा’ केवल एउटा चलचित्र होइन, नेपाली समाजभित्रको सम्बन्ध, भावना र पारिवारिक मनोविज्ञानलाई प्रस्तुत गर्ने कथा हो। भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रबारे पोखरामा आयोजित पत्रकार सम्मेलनमा राईले ‘पेन्सन पट्टा’ले दर्शकलाई आफ्नै जीवन, परिवार र समाजसँग जोड्ने बताए।
चलचित्रमा दयाहाङले निर्वाह गरेको पात्र लाउरे परिवारसँग सम्बन्धित छ। यद्यपि, आफ्नो वास्तविक जीवनमा भने लाउरे परिवारसँग कुनै पारिवारिक सम्बन्ध नरहेको उनले स्पष्ट पारे। तर, नेपाली समाजमा लाउरे परिवारका कथा आफूले नजिकबाट देखेको उनको भनाइ छ।
“लाउरेसँग मेरो पारिवारिक सम्बन्ध छैन। तर, छिमेक र नेपाली समाजमा लाउरे परिवारका धेरै कथा छन्,” दयाहाङले भने।
उनका अनुसार तीन–चार दशकअघिको नेपाली समाजमा ‘पेन्सन पट्टा’को छुट्टै महत्व थियो। पूर्वगोर्खा सैनिकहरूले देशका लागि गरेको योगदान, उनीहरूले पाउने पेन्सन र त्यसले परिवारमा पार्ने प्रभाव चलचित्रको कथाको महत्वपूर्ण आधार बनेको छ।
तर, ‘पेन्सन पट्टा’को कथा पेन्सनमा मात्र सीमित छैन। हराएको पेन्सन पट्टा खोज्ने घटनालाई केन्द्रमा राख्दै चलचित्रले प्रेम, पारिवारिक सम्बन्ध, भावना र सामाजिक संरचनाका विभिन्न पक्षलाई प्रस्तुत गरेको दयाहाङले बताए।
“पेन्सन पट्टा हरेक समाजको कथा हो। यसले भावना, प्रेम र समाजको संरचनालाई बोल्छ,” उनले भने, “हराएको पेन्सन पट्टा खोज्ने क्रममा समाजको परिवेश र सम्बन्धका विभिन्न पाटो उजागर हुनु चलचित्रको विशेषता हो।”
दयाहाङका लागि ‘पेन्सन पट्टा’मा काम गर्नु नेपाली समाजलाई फरक दृष्टिकोणबाट बुझ्ने अवसर पनि बनेको छ। चरित्रमार्फत समाजका विभिन्न मनोविज्ञान बुझ्न पाएको बताउँदै उनले चलचित्रलाई सरल तर गहिरो कथाका रूपमा व्याख्या गरे।
“सिनेमाको चरित्रमार्फत आम नेपाली समाजलाई थोरै भए पनि बुझ्न पाएको छु। ‘पेन्सन पट्टा’ निकै सरल ढंगले प्रस्तुत गरिएको कथा हो। हरेक वर्गका दर्शकले यसलाई बुझ्न सक्छन् र आफ्नै घरको कथा तथा व्यथा महसुस गर्न सक्छन्,” उनले भने।
लेखक तथा निर्देशक माओत्से गुरुङले आमाको पेन्सन प्राप्त गर्न नसक्दा नेपाली समाजका धेरै परिवारले भोगिरहेको समस्यालाई चलचित्रको कथाको आधार बनाएका छन्। गोर्खालीको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने पारिवारिक समस्या, सम्बन्धमा आउने उतारचढाव र सामाजिक परिवेशलाई चलचित्रमा प्रस्तुत गरिएको छ।
“आमाको पेन्सन नपाउँदा समाजका धेरै परिवारमा समस्या देखिन्छ। त्यसलाई चलचित्रमार्फत प्रस्तुत गर्नुपर्छ भन्ने लाग्यो र कथा बनेको हो,” गुरुङले भने, “यो आम समुदायको कथा हो। ‘पेन्सन पट्टा’ तपाईँ–हाम्रै समाजको विषयवस्तु हो।”
माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको ‘पेन्सन पट्टा’मा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, स्वर्गीय सुनिल थापा, माया गुरुङ, विश्वास गुरुङ, सोल गुरुङ, मनिका गुरुङ, डिभी गुरुङ, पञ्चसुब्बा गुरुङ (दिलु) लगायतका कलाकारको अभिनय छ।
पोखराको ताङतिङ तथा आसपासका क्षेत्रमा छायांकन गरिएको चलचित्र ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।


