माओत्से गुरुङको ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक

फिल्मले लाहुरे जीवनबाट अवकाशपछि समाज र परिवारसँग जोडिएर बाँचिरहेका पात्रहरूको भावना तथा सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ।


काठमाडौं । माओत्से गुरुङको निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक भएको छ। हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्मको टिजरले लाहुरे समाज, पारिवारिक सम्बन्ध र मानवीय भावनाको कथा प्रस्तुत गरेको छ।

‘पेन्सन पट्टा’मा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनिभा तुलाधर, सुरज तमु, राज कौछा मगर, यासिली योख्खा, डीबी गुरुङ, प्रतिक्षा गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुषा राई तथा कुबिना गुरुङको अभिनय रहेको छ। फिल्मले लाहुरे जीवनबाट अवकाशपछि समाज र परिवारसँग जोडिएर बाँचिरहेका पात्रहरूको भावना तथा सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ।

सार्वजनिक टिजरले आफ्ना दिवंगत बाबुको पेन्सनपट्टामा आफ्नी आमाको नभई कहिल्यै नसुनेको र थाहा नपाइएकी बाबुको पहिलो पत्नीको नाममा भएको र उनको नाम थाहा नहुँदा परेको सकसको सेरोफेरोमा फिल्मले आफ्नो कथा प्रस्तुत गर्ने देखाएको छ ।

माओत्से गुरुङ स्वयंको कथा तथा निर्देशनमा बनेको फिल्म ‘पेन्सन पट्टा’ माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको हो। फिल्ममा बलियो कलाकार संयोजनसँगै ग्रामीण नेपाली समाज, लाहुरे संस्कार र मानवीय सम्बन्धलाई पर्दामा उतार्ने प्रयास गरिएको छ।

यसअघि नै फिल्मको विदेश प्रदर्शन अधिकारसमेत बिक्री भइसकेको छ। प्रचार सामग्री सार्वजनिक हुनुअघि नै बेलायत र हङकङको प्रदर्शन अधिकार बिक्री भएको खबर सार्वजनिक भएको थियो।

अब टिजर सार्वजनिक भएसँगै ‘पेन्सन पट्टा’प्रति दर्शकको चासो थप बढ्ने अपेक्षा गरिएको छ। फिल्म भदौ २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.