
काठमाडौं । प्रतीक्षित नेपाली सिनेमा ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक गरिएको छ। एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको १ मिनेट ५१ सेकेन्ड लामो टिजरले पारिवारिक सम्बन्ध, देउरानी–जेठानीबीचको मनमुटाव र त्यसले निम्त्याउने घटनाक्रमलाई केन्द्रमा राखेको छ।
टिजरको सुरुवातमै हिउँवाला गौतम रातको समयमा घर छोडेर हिँडेको दृश्य देखाइन्छ। त्यसपछि परिवारका सदस्यहरू उनलाई खोज्न व्यस्त देखिन्छन्। यसले कथामा भावनात्मक तनाव र रहस्य दुवैलाई एकसाथ प्रस्तुत गरेको छ।
पहिलो भागको स्वाद कायम राख्दै निर्माण टिमले सिक्वेलमा केही नयाँ मोड पनि थपेको देखिन्छ। विशेषगरी अभिनेता आर्यन सिग्देल साङ्लोले बाँधिएको अवस्थामा देखिनुले दर्शकमाझ कौतुहलता बढाएको छ। उनको पात्रले कथालाई कुन दिशामा लैजान्छ भन्ने जिज्ञासा टिजरले जगाएको छ।
सुपरहिट सिनेमा ‘झिँगेदाउ’ को सिक्वेलका रूपमा बनेको यस चलचित्रमा केकी अधिकारी र आँचल शर्मा देउरानी–जेठानीको भूमिकामा छन् भने महेश त्रिपाठी र कुशल बिष्ट दाजुभाइका रूपमा देखिएका छन्। निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो सिनेमा आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको अभिनय रहेको छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको सिनेमाको कथा गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको चलचित्र कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको हो।
चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन निर्देशन तथा ईश्वर घिमिरेको प्रोडक्सन व्यवस्थापन रहेको छ। नेपालभर यसको वितरण एप्पल इन्टरटेन्मेन्टले गर्नेछ।
पूर्ण रूपमा पारिवारिक कथावस्तुमा आधारित टिजरले सम्बन्ध, संघर्ष र भावनालाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ। पहिलो भागले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेकाले यसको सिक्वेल ‘झिँगेदाउ २’ प्रति पनि दर्शकमाझ ठूलो अपेक्षा देखिएको छ।


