
काठमाडौं । नयाँ नेपाली फिल्म ‘पच्चीस पच्चीस’को औपचारिक निर्माण घोषणा गरिएको छ। सोमबार दरबारमार्गस्थित कासा लाउन्ज बारमा आयोजित कार्यक्रममा फिल्मको शीर्षकसँगै निर्माण टिम र मुख्य कलाकारको परिचय गराइएको हो।
कर्ण इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मलाई निर्देशक सुब्रत आचार्यले निर्देशन गर्नेछन्। ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका आचार्यको यो तेस्रो निर्देशकीय फिल्म हो।
फिल्मका निर्माता कर्ण कार्की हुन्। यसअघि ‘होस्टेल ३’मार्फत फिल्म निर्माणमा प्रवेश गरेका कार्कीको यो दोस्रो निर्माण हो। सह-निर्मातामा अजय न्यौपाने र धीरेन्द्र लाल कर्ण रहेका छन् भने दीपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माता हुन्। प्रकाश कँडेल र मनिषा राउत लाइन प्रोड्युसर रहेका छन्।
फिल्ममा अबिषेक खड्का, खुसी कार्की र प्रमोद अग्रहरीको मुख्य अभिनय रहनेछ। साथै, दार्जिलिङका कन्टेन्ट क्रिएटर तथा ‘भक्ते भाइ’का नामले परिचित अमित सुब्बाले यसै फिल्ममार्फत नेपाली फिल्ममा डेब्यु गर्नेछन्।
अमित ‘द राइजिङ ब्वाइज इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत कमेडी भिडियोका कारण नेपाल, दार्जिलिङ र सिक्किममा परिचित छन्।
फिल्मको कथा सुब्रत आचार्य र जयाले तयार पारेका हुन् भने पटकथा सुशील देवकोटाले लेखेका छन्। हरि हुमागाईं छायांकन निर्देशक रहेका छन् भने पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेनले गर्नेछन्।
निर्माण टिमका अनुसार फिल्म छिट्टै छायांकनमा जानेछ। सामाजिक–कमेडी कथामा आधारित फिल्मले मनोरञ्जनसँगै सामाजिक विषय पनि उठाउने निर्देशक आचार्यले बताएका छन्।


