लण्डनबाट काठमाडौंसम्म: नेपाली फिल्मको अन्तर्राष्ट्रिय उत्सव ‘इन्फा अवार्ड २०२६’ को भव्य तयारी, कलाकारहरूलाई निमन्त्रणा वितरण प्रारम्भ


काठमाडौं। नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको इन्टरनेशनल नेपाली फिल्म अवार्ड्स (इन्फा अवार्ड २०२६) को तेस्रो संस्करण आगामी २०८३ साउन ३० गते शनिवार (१५ अगस्ट २०२६) काठमाडौंमा भव्य रूपमा आयोजना हुँदैछ । पहिलो र दोस्रो संस्करण बेलायतको लण्डनमा सफलतापूर्वक सम्पन्न गरेको इन्फा इभेन्ट्स यूक तथा इन्फा इभेन्टस नेपालले यसपटक पहिलोपटक नेपालमै अवार्ड समारोह आयोजना गर्न लागेको हो।
नेपाली फिल्म, कला, भाषा, संस्कृति तथा स्रष्टाहरूलाई विश्वसामु चिनाउने उद्देश्य बोकेको यो अवार्डलाई नेपाली फिल्म क्षेत्रकै एक उत्कृष्ट, प्रतिष्ठित र गौरवपूर्ण सम्मानका रूपमा स्थापित गर्ने आयोजकको लक्ष्य रहेको छ । यही उद्देश्यलाई सफल बनाउन अहिले फिल्मकर्मी, कलाकार, निर्माता, निर्देशक, प्राविधिक तथा सञ्चारकर्मीहरूसँग सहकार्य गर्दै निमन्त्रणा हस्तान्तरण अभियानलाई तीव्र बनाइएको छ ।
चर्चित कलाकारहरूलाई निमन्त्रणा हस्तान्तरण
अवार्ड समारोहलाई भव्य बनाउन आयोजक टोलीले नेपाली चलचित्र क्षेत्रका अग्रज तथा लोकप्रिय कलाकारहरूलाई औपचारिक निमन्त्रणा हस्तान्तरण गरिरहेको छ । आगामी दिनमा अन्य कलाकार, निर्देशक, निर्माता तथा प्राविधिकलाई समेत निमन्त्रणा हस्तान्तरण गरिने आयोजक संस्थाले जनाएको छ ।
अन्तर्राष्ट्रिय र नेपाली टोलीको संयुक्त तयारी
यस वर्षको इन्फा अवार्डलाई सफल बनाउन बेलायत र नेपालका अनुभवी फिल्मकर्मी तथा आयोजकहरू संयुक्त रूपमा सक्रिय छन् ।
इन्फा यूके (लण्डन टिम)
अध्यक्ष: उमेशराज मोक्तान
बोर्ड सदस्य: टंक भट्टराई, पाल्देन लामा, आशिषराज पन्त, राज पाण्डे, सुष्मा पौडेल
इन्फा नेपाल टीम
अध्यक्ष: सुनील श्रेष्ठ
बोर्ड सदस्य: मनिष कार्की, मनोज केसी
दुवै टोलीले नेपाल तथा विदेशमा रहेका नेपाली फिल्मकर्मीबीचको सम्बन्ध अझ सुदृढ बनाउने लक्ष्यका साथ अवार्डलाई अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमका रूपमा स्थापित गर्ने तयारी गरिरहेका छन् ।
लण्डनबाट काठमाडौंसम्मको गौरवपूर्ण यात्रा
स्मरण रहोस्, इन्फा अवार्डको पहिलो र दोस्रो संस्करण बेलायतको लन्डनमा अत्यन्त सफलतापूर्वक सम्पन्न भएका थिए । ती दुवै संस्करणले बेलायतस्थित नेपाली समुदायबाट उल्लेखनीय साथ र सहभागिता प्राप्त गर्नुका साथै नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने महत्वपूर्ण सेतुका रूपमा परिचित बनेका थिए ।
यसपटक भने पहिलोपटक नेपालमै आयोजना हुन लागेको तेस्रो संस्करणलाई नेपाली फिल्म उद्योगका लागि ऐतिहासिक अवसरका रूपमा हेरिएको छ । स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको चलचित्र अवार्ड आयोजना हुँदा नेपाली कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकलाई विश्व समुदायसँग प्रत्यक्ष जोड्ने अपेक्षा गरिएको छ ।
उत्कृष्टताको सम्मान गर्ने उद्देश्य
आयोजकका अनुसार इन्फा अवार्ड केवल पुरस्कार वितरण कार्यक्रम मात्र होइन, नेपाली फिल्म उद्योगको योगदानलाई विश्वसामु प्रस्तुत गर्ने साझा अभियान पनि हो । उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता९अभिनेत्री लगायत विभिन्न विधामा सम्मान प्रदान गरिने अपेक्षा गरिएको छ ।
नेपाली फिल्मको विश्वयात्रामा अर्को महत्वपूर्ण अध्याय
नेपाली चफिल्मको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने, नयाँ पुस्ताका कलाकारलाई प्रेरणा दिने, विदेशी बजारसँग नेपाली फिल्म उद्योगलाई जोड्ने तथा नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यसहित आयोजना हुन लागेको तेस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्डलाई फिल्म क्षेत्रले ठूलो अपेक्षाका साथ हेरिरहेको छ ।
आयोजकले भनेको छ- ‘इन्फा अवार्डलाई नेपाली फिल्म क्षेत्रकै एक उत्कृष्ट, गर्विलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित गर्ने हाम्रो उद्देश्य हो। यस अभियानमा सम्पूर्ण चलचित्र क्षेत्र, कलाकार, निर्माता, निर्देशक, प्राविधिक तथा पत्रकारहरूको निरन्तर साथ रहनेमा हामी विश्वस्त छौं ।’
नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रिय यात्रामा अर्को महत्वपूर्ण कोशेढुंगाका रूपमा हेरिएको इनफा अवार्ड २०२६ ले यस वर्ष काठमाडौंलाई नेपाली सिनेमाको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा चिनाउने विश्वास आयोजकले व्यक्त गरेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.