
काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा–२०२६) को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ। इन्फा इभेन्ट्स यूके लिमिटेड तथा इन्फा नेपाल लिमिटेडले साउन ३० गते काठमाडौंस्थित याक एन्ड यति होटलमा आयोजना गर्ने अवार्डका लागि विभिन्न विधाको अन्तिम मनोनयन बुधबार सार्वजनिक गरेका हुन्।
यस वर्ष प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली चलचित्रबाट निर्णायक मण्डलले विभिन्न विधामा उत्कृष्ट पाँच मनोनयन छनोट गरेको जनाएको छ।
मनोनयन सूचीमा ‘ऊनको स्विटर’, ‘जेरीः अन टप’, ‘कोशेढुंगा’, ‘परान’ र ‘आ बाट आमा’ ले अधिकांश मुख्य विधामा स्थान बनाएका छन्। उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सम्पादन, छायांकन तथा संगीतलगायत विधामा यी चलचित्र दोहोरिएका छन्।
उत्कृष्ट निर्देशकतर्फ दीपकप्रसाद आचार्य, नविन चौहान, सरोज पौडेल, सुदिप्ता र सुयोग गुरुङ मनोनयनमा परेका छन्।
उत्कृष्ट अभिनेतामा अनमोल केसी, नाजिर हुसेन, नीर शाह, पल शाह र विपिन कार्की तथा उत्कृष्ट अभिनेत्रीमा आना शर्मा, जसिता गुरुङ, मिरुना मगर, रिश्मा गुरुङ र सुरक्षा पन्त मनोनयनमा परेका छन्।
आयोजक इन्फा इभेन्ट्स यूके लिमिटेडका अध्यक्ष उमेशराज मोक्तान र इन्फा नेपाल लिमिटेडका अध्यक्ष सुनिल श्रेष्ठले अवार्डको अन्तिम निर्णय स्वतन्त्र निर्णायक मण्डलले गर्ने बताएका छन्। उनीहरूका अनुसार निर्णय प्रक्रियामा आयोजक, प्रायोजक वा अन्य कुनै पक्षको हस्तक्षेप रहने छैन।
निर्णायक मण्डलमा वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी र वरिष्ठ सम्पादक एवं गीतकार करुण थापा रहेका छन्। अवार्ड समारोह साउन ३० गते काठमाडौंमा हुनेछ।
यस वर्ष इन्फा अवार्ड पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो। पहिलो र दोस्रो संस्करण बेलायतमा सम्पन्न भएका थिए।


