
काठमाडौं। नेपाल मिक्स बक्सिङ एसोसिएसन (एनएमबीए)को आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा ‘थर्ड वर्ल्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’ साउन १३ देखि १५ गते (जुलाई २९–३१) सम्म काठमाडौंको बुढानीलकण्ठ–३ स्थित मिस्टिक क्लबमा आयोजना हुने भएको छ।
प्रतियोगिताबारे जानकारी दिन आइतबार बुढानीलकण्ठ नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाको विशेष उपस्थिति रहेको थियो। आयोजकका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन साउन १३ गते बिहान हुनेछ।
नेपाल मिक्स बक्सिङ एसोसिएसनका अध्यक्ष राजेश तामाङका अनुसार प्रतियोगितामा नेपालसहित ११ देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालसँगै भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अजरबैजान, घाना, अमेरिका, जर्मनी, चीन र चिलीका खेलाडी सहभागी हुनेछन्।
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख मिठाराम अधिकारीले खेलकुद क्षेत्रको विकासका लागि बुढानीलकण्ठ नगरपालिकाले निरन्तर लगानी बढाउँदै आएको बताए। उपप्रमुख अनिता लामाले बुढानीलकण्ठलाई खेलकुदमैत्री नगरका रूपमा विकास गर्ने लक्ष्यसहित खेलकुदलाई नगरको प्राथमिकतामा राखेर अघि बढाइने बताइन्।
आयोजक समितिका अध्यक्ष मोहन खड्काले प्रतियोगिताले नेपालमा मिक्स बक्सिङ खेलको विकास, युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव तथा खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाली खेलाडीको मनोबल र प्रतिस्पर्धात्मक क्षमता अझ सुदृढ बनाउने बताए।
नेपाल मिक्स बक्सिङ एसोसिएसनले यसअघि एसियन मिक्स बक्सिङ च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरिसकेको उल्लेख गर्दै आयोजकले यसपटकको विश्वस्तरीय प्रतियोगिताले नेपालको अन्तर्राष्ट्रिय खेलकुद छविलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ।


