‘एक्का मिस्सी बादशाह’ निर्माण घोषणा, सम्राज्ञी मुख्य भूमिकामा


काठमाडौं । निर्देशकका रूपमा सञ्जय राईले डेब्यु गर्ने फिल्म ‘एक्का मिस्सी बादशाह’को निर्माण घोषणा गरिएको छ। शनिबार राईको जन्मदिनका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कलाकार र प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण प्रक्रिया सुरु गरिएको जानकारी दिइयो।

मोहिनीदेवी राईको प्रस्तुतिमा बन्ने फिल्ममा अभिनेत्री सम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहनेछिन्। उनी ‘आश’ पात्रका रूपमा देखिने निर्माण टिमले जनाएको छ। कार्यक्रममा सम्राज्ञीको बोल्ड लुक्ससहितको पोस्टर पनि सार्वजनिक गरिएको थियो।

केही समयपछि नयाँ फिल्ममा फर्किएकी सम्राज्ञीले आफूलाई मनपर्ने पात्र पाएपछि मात्र फिल्ममा आबद्ध भएको बताइन्। उनका अनुसार ‘आश’ साहसी, बोल्ड र फरक प्रकृतिको पात्र हो।

निर्देशक राईले फिल्म युवापुस्ताको प्रेम, मित्रता, सामाजिक सञ्जाल र जीवनका उतारचढावमा केन्द्रित रहेको बताए। ‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ ट्यागलाइन रहेको फिल्म आगामी फागुनदेखि छायांकनमा जानेछ।

फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निकेश कार्की र रोमन बज्राचार्यको संगीत तथा सुनिल शिवभक्तिको सम्पादन रहनेछ। निर्माण टिमले ‘क्रिश’ र ‘अर्जुन’ नामका दुई मुख्य पुरुष पात्रका लागि अडिसन खुला गरिएको जनाएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.