‘मास्टर्नी’का दुई पोस्टर सार्वजनिक, आमा–छोरीको सम्बन्ध र रहस्यपूर्ण कथा

प्रियंका कार्की र सिम्रन खड्कालाई भावुक मुद्रामा प्रस्तुत गरिएको छ।


काठमाडौं। आयंका फिल्म्सको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘मास्टर्नी’ का दुई नयाँ पोस्टर सार्वजनिक गरिएका छन्। यसअघि सार्वजनिक गरिएको अभिनेत्री प्रियंका कार्कीको एकल पोस्टरले सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण टिमले थप दुई फरक शैलीका पोस्टर सार्वजनिक गरेको हो। चलचित्र आगामी भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

सार्वजनिक पहिलो पोस्टरमा अभिनेत्री प्रियंका कार्की र सिम्रन खड्कालाई भावुक मुद्रामा प्रस्तुत गरिएको छ। प्रियंकाको अँगालोमा सिम्रन रहेको दृश्यले आमा–छोरीबीचको गहिरो सम्बन्धलाई चित्रण गरेको छ। पोस्टरले चलचित्रको कथा आमा र छोरीको सम्बन्ध वरिपरि केन्द्रित रहेको संकेत गर्छ।

दोस्रो पोस्टरमा चलचित्रका प्रमुख कलाकार प्रियंका कार्की, प्रमोद अग्रहरी र सिम्रन खड्का देखिएका छन्। पोस्टरमा ‘नेपाल प्रहरी अपराध घटनास्थल प्रवेश निषेध’ लेखिएको प्रहरी टेप प्रयोग गरिएको छ, जसले कुनै रहस्यमय अपराध घटेको र त्यसको अनुसन्धान भइरहेको वातावरण सिर्जना गर्छ।

पोस्टरको पृष्ठभूमिमा देखाइएका हराएका व्यक्तिहरूका सूचनाले रहस्य र अपराधको कथावस्तुप्रति उत्सुकता बढाएको छ। साथै, ‘उनले अपराध रोजिनन्, उनले त केवल आफ्नी छोरी रोजिन्।’ भन्ने ट्यागलाइनले आफ्नी छोरीलाई बचाउन एक आमाले गर्नुपरेको कठिन निर्णय र संघर्षको संकेत दिन्छ। यी सबै पक्षले चलचित्र क्राइम–थ्रिलर विधामा आधारित रहेको स्पष्ट पार्छन्।

शुभेन्दु घोष निर्देशित चलचित्रका निर्माता प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की हुन्। चलचित्रमा प्रियंकासँगै आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्ले लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रका कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् भने सिमोस सुनुवार क्रिएटिभ निर्माता रहेका छन्। प्रियंका कार्कीको कथामा आधारित यस चलचित्रको स्क्रिनप्ले शान बस्नेतले तयार पारेका हुन्। संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य रहेको छ। चलचित्रको छायांकन युवराज इन्दोरियाले गरेका हुन् भने सम्पादन राजा सिंह सिदुले गरेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.