चलचित्र ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्र ‘कमला मिस’ आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।


काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित नेपाली चलचित्र ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक गरिएको छ। साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित यस चलचित्रको प्रदर्शनअघि निर्माण टिमले गीत दर्शकमाझ ल्याएको हो।

सार्वजनिक गीतमा युग भुसालको शब्द तथा संगीत रहेको छ भने रुबाई र सरोदी कुमारको स्वर सुन्न सकिन्छ। गीतको मिक्सिङ तथा मास्टरिङ रूप महन्तले गरेका हुन् भने मुम्बईस्थित प्लेहेड स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्।

मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्र ‘कमला मिस’ आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

चलचित्रमा निर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवं सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन्। पुष्कर लामा लाइन प्रोड्युसर हुन्।

चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन्।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मिलन विक्रम शाहको सम्पादन, किरण तुलाधरको पार्श्व संगीत, मुकेश शाहको साउन्ड मास्टरिङ , रेनिश फागोको रङ संयोजन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। चलचित्र ‘कमला मिस’ लाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशव्यापी रूपमा वितरण गर्नेछन्।

Copyright © 2012 - 2026 | All Right Reserved.