चलचित्र ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने

चलचित्रको छायाङ्कन यसै वर्षको फागुन–चैत महिनादेखि सुरु गर्ने तयारी


काठमाडौं। निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा नयाँ नेपाली चलचित्र ‘हजारौँमा एक’ निर्माण हुने भएको छ। एक्सन–एड्भेन्चर विधामा निर्माण हुन लागेको यो चलचित्र रहस्य र अलौकिक कल्पनामा गहिरोसँग आधारित रहेको निर्माण पक्षले जनाएको छ। फरक स्वाद, भव्य दृश्य प्रस्तुति तथा उच्चस्तरीय निर्माण शैलीमार्फत नेपाली चलचित्र उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यका साथ यो चलचित्र निर्माण गर्न लागिएको हो।

चलचित्रको निर्देशन सञ्चारकर्मी समेत रहेका अनुभवी निर्देशक सुव्रत आचार्यले गर्नेछन्। चलचित्रको कथा सीता मायाले परिकल्पना गरेकी हुन् र उनी नै चलचित्रकी प्रस्तुतकर्ता पनि हुन्। दिपेन्द्र गौतम ‘माइकल’ कार्यकारी निर्माताको भूमिकामा रहनेछन् भने हरि हुमागाई चलचित्रका डिओपी रहने निश्चित भएको छ।

चलचित्रको पटकथालाई नेपाली परिवेश अनुकूल संवाद रूपान्तरण तथा परिमार्जन गर्ने कार्य लेखक शान बस्नेतले गरिरहेका छन्। चलचित्रको छायाङ्कन यसै वर्षको फागुन–चैत महिनादेखि सुरु गर्ने तयारी भइरहेको छ।

निर्माण पक्षका अनुसार चलचित्रका अधिकांश प्रमुख भूमिकामा नेपाली कलाकारहरूको अभिनय रहनेछ। त्यसै गरी, छायाङ्कन टोलीसहित अधिकांश प्राविधिक टोली पनि नेपाली चलचित्र उद्योगकै रहनेछन्। चलचित्रको गीत–सङ्गीत समेत नेपाली सर्जकहरूले नै तयार गर्नेछन्।

करिब चार करोड रुपैयाँको अनुमानित लागतमा निर्माण हुन लागेको ‘हजारौँमा एक’ नेपाली चलचित्र उद्योगका लागि एउटा महत्त्वपूर्ण र भव्य परियोजनाका रूपमा हेरिएको छ। अलौकिक कल्पना, साहसिक यात्रा, एक्सन तथा आधुनिक चलचित्र प्रविधिको प्रभावकारी संयोजनमार्फत नेपालकै पर्यटकीय स्थलहरूमा छायाङ्कन गरि निर्माण हुने यस चलचित्रले स्वदेशी तथा अन्तर्राष्ट्रिय दुवै दर्शकमाझ विशेष आकर्षण सिर्जना गर्ने निर्माण पक्षको विश्वास रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.