को हुन् ‘गौँथली’का निर्देशक डा. कपिल रिजाल, जसले अटिजमको कथालाई पर्दामा उतारे?

डेब्यु निर्देशनमै फरक स्वाद दिने प्रयास गरेका कपिलले यसपटक ‘गौँथली’मार्फत अझ चुनौतीपूर्ण विषय रोजेका छन्।


काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा यतिबेला सबैभन्दा बढी चर्चा बटुलिरहेको चलचित्र हो– ‘गौँथली’। संवेदनशील विषयवस्तु, फरक शैलीको प्रचारप्रसार र कलाकारहरूको समर्पित प्रस्तुतिका कारण चलचित्र प्रदर्शनअघि नै दर्शकमाझ उत्सुकताको विषय बनेको छ।

चलचित्रको गीत सार्वजनिक कार्यक्रममा मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का फिल्मकै पात्रअनुसार बेहुला–बेहुलीको वेशभूषामा उपस्थित भए। त्यसपछि पनि उनीहरूले त्यही पात्रलाई निरन्तरता दिँदै विभिन्न टेलिभिजन कार्यक्रम र सार्वजनिक कार्यक्रममा सहभागिता जनाइरहेका छन्।

केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा सिम्रनले आफू १५ वर्षकै उमेरमा अटिजम भएका व्यक्तिसँग विवाह गरेको पात्रकै कथा सुनाइन् भने अरुणले पनि चलचित्रमा निभाएको अटिजम भएका युवकको चरित्रबाट बाहिर ननिस्की अन्तर्वार्ता दिए। सुरुमा धेरै दर्शकले उनीहरू वास्तविक पात्र हुन् भन्ने ठानेका थिए। यही सिर्जनात्मक प्रचार शैलीले ‘गौँथली’लाई सामाजिक सञ्जालदेखि आम दर्शकमाझ चर्चा दिलाएको छ।

तर आखिर को हुन् यी निर्देशक डा. कपिल रिजाल?

पेशाले डेन्टल चिकित्सक रहेका कपिलले लामो समय बेलायतमा दन्त चिकित्सकका रूपमा काम गरे। चिकित्सा क्षेत्रमा सफल करिअर बनाइसकेपछि पनि उनको मन भने सिर्जनात्मक दुनियाँतिर नै तानिरह्यो। अन्ततः उनले चलचित्र निर्देशनलाई आफ्नो अर्को यात्राको रूपमा रोजे।

निर्देशकका रूपमा उनको पहिलो चलचित्र ‘ह्यारी कि प्यारी’ थियो, जसबाट उनले अभिनेता जितु नेपाललाई पहिलोपटक मुख्य नायकका रूपमा प्रस्तुत गरेका थिए। डेब्यु निर्देशनमै फरक स्वाद दिने प्रयास गरेका कपिलले यसपटक ‘गौँथली’मार्फत अझ चुनौतीपूर्ण विषय रोजेका छन्।

अटिजमजस्तो संवेदनशील सामाजिक विषयलाई मनोरञ्जनसँगै भावनात्मक ढंगले प्रस्तुत गर्ने उनको प्रयास अहिले दर्शकको प्रशंसा बटुलिरहेको छ। चलचित्रको विषय, प्रस्तुतिको शैली र प्रचार अभियानले यसको हाइप दिनप्रतिदिन बढाइरहेको छ।

डा. कपिल रिजाल प्रख्यात स्त्री तथा प्रसूति रोग विशेषज्ञ, गीतकार तथा चलचित्रकर्मी डा. भोला रिजालका छोरा हुन्। बाबुको साहित्य, संगीत र चलचित्रप्रतिको लगावको प्रभाव कपिलमा बाल्यकालदेखि नै परेको थियो। त्यही संस्कार र सिर्जनात्मक वातावरणले उनलाई चिकित्सा पेशासँगै चलचित्र निर्देशनतर्फ डोर्‍याएको हो।

‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले पनि अभिनय गरेका छन्।

चलचित्रको कथा डा. भोला रिजालको हो। पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन्।

चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले गर्नेछन् भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.