
काठमाडौं। राजधानीमा हुन गइरहेको विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनालेमा सेलिब्रेटी ग्रान्ड जुरीको भूमिका निर्वाह गर्न भारतीय प्रख्यात कोरियोग्राफर टेरेन्स लुइस काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वर्ल्ड अफ डान्स नेपाल’का कलात्मक निर्देशक जेडी तमु, राष्ट्रिय निर्देशक रोशन गहतराज लगायतको आयोजक टोलीले भव्य स्वागत गरेको छ। टेरेन्ससँगै ‘टेरेन्स लुइस डान्स एकेडेमी’की प्रमुख कोरियोग्राफर महरुख डुमासिया पनि नेपाल आएकी छन्।
विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै टेरेन्सले नेपाल आउन पाउनु आफ्नो लागि निकै गर्वको क्षण रहेको बताएका छन्। उनले कार्यक्रमका कलात्मक निर्देशक जेडी तमु आफ्नो उत्कृष्ट विद्यार्थी र एकेडेमीकै ब्याच टपर रहेको स्मरण गर्दै आजको ग्रान्ड फिनालेमा उत्कृष्ट अनुभव सँगाल्ने विश्वास व्यक्त गरे।
भारतमा रहँदा थुप्रै नेपाली डान्सरहरूसँग काम गरेको गजबको अनुभव सुनाउँदै उनले नेपाली प्रतिभाहरूको खुलेर तारिफ गरे। नेपालीहरूले आफैँले सिकेर पनि वर्ल्ड क्लासको नृत्य गर्ने गरेको देख्दा आफू सधैँ छक्क पर्ने गरेको उनको भनाइ थियो।
भारतमा ‘कन्टेम्पररी डान्स’ लोकप्रिय बनाउन प्रमुख भूमिका खेलेका मुम्बईका टेरेन्स लुइस बलिउडका सफल कोरियोग्राफर हुन्। ‘लगान’ र ‘झङ्कार बिट्स’ जस्ता चर्चित चलचित्रमा उत्कृष्ट कोरियोग्राफी गरेका उनी ‘डान्स इन्डिया डान्स’ र ‘इन्डियाज बेस्ट डान्सर’ जस्ता ठुला रियालिटी शोका निर्णायकको रूपमा निकै लोकप्रिय छन्। उनले हजारौँ नयाँ डान्सरहरूलाई प्रशिक्षण दिएर डान्स इन्डस्ट्रीमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
सन् २००८ मा अमेरिकी राज्य दक्षिणी क्यालिफोर्नियाबाट सुरु भई ५० भन्दा बढी देशमा फैलिसकेको यो विश्व स्तरीय प्लेटफर्मलाई नेपालमा ल्याएर नेपाली प्रतिभालाई विश्व मञ्चमा चिनाउने उद्देश्य राखिएको छ। आज हुने ग्रान्ड फिनालेको निर्णायक मण्डलमा टेरेन्स लुइसका साथै नेपालका लेजेन्डरी ‘वाइल्ड रिपर्ज क्रु’का सदस्य किरण थापा र कलात्मक निर्देशक जेडी तमु रहनेछन्। प्रत्येक डिभिजनका विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार र २४ क्यारेट सुनको जलप लगाइएको ट्रफी प्राप्त गर्नेछन्।


