‘एभरेस्ट फिल्म फेस्टिभल’ नेपाल–चीन चलचित्र सहकार्यमा नयाँ आयाम


काठमाडौं । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ले नेपाल–चीन सांस्कृतिक तथा चलचित्र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याएको छ । चलचित्रकर्मीहरूले यस फेस्टिभललाई नेपाली चलचित्र उद्योगको विश्व बजार प्रवेशतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन् ।

फेस्टिभलपछि आयोजित अनुभव आदानप्रदान कार्यक्रममा नेपाल एआई फिल्म एलायन्स् तथा एभरेस्ट फिल्म फेस्टिभलका अध्यक्ष करूण थापाले चिनियाँ नागरिक ली होङ्गशु (शु–ग) को पहलबाट करिब तीन वर्षअघि सुरु भएको अभियान अहिले ठोस उपलब्धिसम्म पुगेको बताए । उनका अनुसार नेपाली चलचित्रलाई चीनको विशाल बजारमा पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको प्रयासले अब व्यावहारिक रूप लिन थालेको छ ।

फेस्टिभलका लागि नेपालबाट २३ वटा चलचित्र पठाइएकामध्ये ११ चलचित्र छनोटमा परेका थिए । तीमध्ये चिनियाँ सेन्सर प्रक्रिया पार गर्दै ‘एन्जिला’, ‘छक्का पञ्जा–५’, ‘तेलभिसा’, ‘महाजात्रा’, ‘कबड्डी–४’ र ‘होस्टेल–३’ प्रदर्शनका लागि छनोट भएका थिए ।

चीनको हुनान प्रान्तअन्तर्गत छाङ्शा र हेङ्याङ सहरमा सम्पन्न फेस्टिभल सात दिनसम्म चलेको थियो । उक्त अवधिमा नेपाली चलचित्रहरू एकै समयमा पाँच वटा हलमा प्रदर्शन गरिनु नेपाली टोलीका लागि विशेष अनुभव बनेको सहभागीहरूले बताएका छन् ।

फेस्टिभलमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल, निर्देशक समाजका तत्कालीन अध्यक्ष जनकदीप पराजुलीलगायत निर्देशक, निर्माता, कलाकार तथा चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बलको सांस्कृतिक टोलीले नेपाली कला र संस्कृतिलाई झल्काउने नृत्यसमेत प्रस्तुत गरेको थियो ।

फेस्टिभलसँगै आयोजना गरिएको ‘एआई फिल्म मेकिङ कन्फरेन्स’लाई पनि नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । चीन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा अग्रस्थानमा रहेकाले चलचित्र निर्माणमा आधुनिक प्रविधिको प्रयोग, प्राविधिक ज्ञान आदानप्रदान तथा सहकार्यका सम्भावनाबारे नेपाली टोलीले प्रत्यक्ष अनुभव हासिल गरेको अध्यक्ष थापाले बताए ।

उनका अनुसार ‘२०२६ नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने सम्भावनासँगै नेपाल–चीन चलचित्र सहकार्यलाई थप मजबुत बनाउने आधार तयार गरेको छ ।

कार्यक्रममा चिनियाँ पक्षका अध्यक्ष जियाङ बोले सन् २०२१ देखि सुरु भएको परिकल्पनाले लामो तयारीपछि अहिले मूर्त रूप पाएको उल्लेख गर्दै आगामी दिनमा नेपाल–चीनबीच चलचित्र तथा सांस्कृतिक सहकार्य अझ सशक्त बन्ने विश्वास व्यक्त गरे ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.