ओम प्रतीकको ‘हली’ साउन २२ देखि प्रदर्शनमा आउने


काठमाडौं । निर्देशक ओम प्रतीकको नयाँ नेपाली चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार दुई आधिकारिक पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमध्ये एकमा चलचित्रका प्रमुख कलाकारहरू तनावपूर्ण र आक्रोशित भावमा प्रस्तुत भएका छन्। पोस्टरमा ओम प्रतीक, सरोज खनाल, प्रमोद दीप र सुजता थापा पात्रहरूबीचको द्वन्द्व र सम्बन्धमा आएको उतारचढावलाई झल्काउने शैलीमा देखिएका छन्। पोस्टरले कथामा लुकेको सामाजिक संघर्ष र भावनात्मक टकरावको संकेत दिएको छ।

त्यसैगरी, पोस्टरको पृष्ठभूमिमा घरको दैलोमा थाल बोकेर बसेका दुई महिलाको दृश्यले नेपाली समाजमा महिलाले भोग्नुपरेका पीडा, विभेद र मौन संघर्षलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको अनुभूति हुन्छ। चलचित्रको मुख्य कथावस्तु र यसको गहिराइ भने टिजर तथा ट्रेलर सार्वजनिक भएपछि थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा निर्माण भएको ‘हली’ वास्तविक जीवनका घटनाबाट प्रेरित रहेको निर्माण पक्षले जनाएको छ। चलचित्रले समाज र देशमा परिवर्तन ल्याउन एक सचेत र संघर्षशील ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सशक्त सन्देश बोकेको बताइएको छ। यसअघि व्यावसायिक रूपमा सफल चलचित्र ‘मोहर’ निर्देशन गरिसकेका ओम प्रतीक यसपटक पनि सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर दर्शकमाझ आउँदैछन्। चलचित्रको कथा तथा निर्देशन स्वयं ओम प्रतीकले गरेका हुन्।

चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी लगायत कलाकारहरूको अभिनय रहेको छ। निर्देशक ओम प्रतीक स्वयं पनि चलचित्रमा महत्वपूर्ण भूमिकामा देखिनेछन्।

चलचित्रको विशेष आकर्षणका रूपमा समावेश गरिएको प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष नृत्य प्रस्तुति रहनेछ। उक्त गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने अन्य गीतहरूमा ओम प्रतीक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको छ।

पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल हुन्। सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण बज्राचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेका छन्। चलचित्रमा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन तथा विपिन मल्लको सम्पादन संयोजन रहेको छ। कुमार महर्जनले द्वन्द्व निर्देशन गरेको चलचित्र ‘हली’को वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.