
काठमाडौं । डार्क कमेडी शैलीमा निर्माण गरिएको नेपाली चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक भिडियो सार्वजनिक गरिएको छ । मेघौली फिल्म्सको ब्यानरमा बनेको चलचित्रले फर्स्ट लुकसँगै आफ्नो प्रदर्शन मिति पनि घोषणा गरेको छ । चलचित्र अब यही तिहारमा प्रदर्शनमा आउने भएको छ।
सार्वजनिक फर्स्ट लुकमा अभिनेता विजय बराललाई ‘पुन्य चौलागाईँ’ नामका वडा अध्यक्षको फरक, व्यङ्ग्यात्मक र रहस्यमय भूमिकामा प्रस्तुत गरिएको छ । भिडियोमा सुनिने “जहाँ समस्या त्यहाँ पुन्य चौलागाईँ” भन्ने संवादले उनको चरित्रलाई चलाख र प्रभावशाली गाउँनेताको रूपमा चित्रण गर्छ । त्यसपछि आउने “यो गाउँमा बाहेक अरु को नै छ र मेरो आफ्नो” भन्ने संवादले कथाभित्रको भावनात्मक तह पनि संकेत गर्छ।
ढाका टोपी, बाक्लो जुँगा, चस्मा र सुटमा देखिएका विजय बरालको अवतार निकै आकर्षक देखिन्छ । अझ ‘भ्रष्टाचारलाई रोकौँ !’ लेखिएको बोर्डमुनि बसेर पैसा लेनदेन गरिरहेको दृश्यले नेपाली राजनीतिको दोहोरो चरित्रमाथि चलचित्रले कडा व्यङ्ग्य गरेको अनुमान गर्न सकिन्छ।
चलचित्रको कथा सडक पहुँच नपुगेको विकट गाउँमा आधारित छ । गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नआउँदासम्म शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ पुर्याउँदा उत्पन्न हुने अप्रत्याशित घटना, तनाव र हास्यास्पद परिस्थितिलाई चलचित्रले प्रस्तुत गर्नेछ।
‘बेहुली फ्रम मेघौली’ निर्देशन गरेर चर्चामा आएका सजन काफ्ले र आकास बरालले संयुक्त रूपमा निर्देशन तथा पटकथा लेखन गरेका हुन् । चलचित्रमा विजय बरालसँगै प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक र सन्जोग रसाइलीलगायत कलाकारहरूको अभिनय रहेको छ।
मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रमा निशाल पौडेलको छायांकन, चानस पुन मगरको सम्पादन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन तथा अङ्कित बाबु अधिकारीको सङ्गीत रहेको छ । काठमाडौं उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डि सिएनले वितरण गर्ने चलचित्र ‘जिरो डिग्री’ले तिहारमा दर्शकलाई मनोरञ्जनसँगै गहिरो सामाजिक व्यङ्ग्य प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।


