
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच एफएसडी फिल्मस्को प्रस्तुतिमा तयार गरिएको उक्त गीतको भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।
गीतमा शब्द रचना स्वयं बियोन्डकै रहेको छ भने संगीत ब्रिजेश श्रेष्ठले गरेका हुन् । आधुनिक स्वाद र रोमान्टिक प्रस्तुतिको समिश्रण रहेको ‘झिम झिम’ ले प्रेम, अनुभूति र समकालीन युवापुस्ताको भावनालाई आकर्षक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ ।
म्युजिक भिडियोको निर्देशन पीमाधवले गरेका हुन् । भिडियोमा आकर्षक दृश्य संयोजन र कलात्मक प्रस्तुति देख्न सकिन्छ । दिपिका तामाङको कोरियोग्राफीले भिडियोलाई अझ जीवन्त बनाएको छ । भिडियोमा बियोन्ड स्वयं र मोडल निशा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
भिडियोका डिओपी विवेक मगर,छायांकन योन्जन, दृश्य सम्पादन सोवित मगरले गरेका हुन् । गीत सार्वजनिक कार्यक्रममा विभिन्न कला, संगीत तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा पुनम अग्रवालको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिका रूपमा हाकिम रहनुभएको थियो । कार्यक्रममा वक्ताहरूले नेपाली संगीत क्षेत्रमा नयाँ पुस्ताले सिर्जनात्मक र गुणस्तरीय काम गरिरहेको उल्लेख गर्दै ‘झिम झिम’ गीतले पनि दर्शकमाझ राम्रो स्थान बनाउने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै बियोन्डले नेपाली संगीत क्षेत्रमा फरक स्वादको काम गर्ने प्रयास निरन्तर जारी रहने बताउनुभयो । उहाँले दर्शक तथा स्रोताबाट प्राप्त साथ र प्रतिक्रियाले आफूलाई थप उत्साहित बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि नयाँ सिर्जनासहित उपस्थित हुने बताए । सार्वजनिक भएको ‘झिम झिम’ गीत तथा भिडियो अहिले विभिन्न डिजिटल प्लेटफर्ममार्फत दर्शकले हेर्न र सुन्न सक्नेछन् ।


