
काठमाडौँ। नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्दै नेपाली फिल्म उद्योगलाई ऐतिहासिक सफलता दिलाएको छ।
निर्देशक अविनाशबिक्रम शाहको डेब्यु फिचर फिल्मले ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत प्रतिष्ठित जुरी अवार्ड हात पार्न सफल भएको हो। यससँगै कान्समा पुरस्कार जित्ने पहिलो नेपाली फिचर फिल्मका रूपमा ‘एलिफेन्ट्स इन द फग’ले इतिहास रचेको छ।
यति मात्र होइन, ‘अन सर्टेन रिगार्ड’ सेक्सनमा छनोट हुने पहिलो नेपाली फिल्मसमेत यही बनेको छ। यो विधामा विश्वभरका फरक शैली, दृष्टिकोण र विषयवस्तु प्रस्तुत गर्ने उत्कृष्ट फिल्महरूलाई स्थान दिइन्छ।
तराईको सामाजिक परिवेशमा आधारित फिल्मले सीमान्तकृत ट्रान्सजेन्डर समुदायको कथा उठाएको छ। कथाकी मुख्य पात्र ‘पिरती’ किन्नर समुदायकी अगुवा हुन्, जो आफूले प्रेम गर्ने व्यक्तिसँग नयाँ जीवन सुरु गर्ने सपना बोकेकी हुन्छिन्। तर समुदायकी एक युवती हराएपछि उनी व्यक्तिगत चाहना र सामुदायिक जिम्मेवारीबीच कठिन संघर्षमा पर्छिन्।
पुरस्कार ग्रहणपछि निर्देशक शाहले सीमान्तकृत समुदायको कथा विश्व मञ्चमा प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए।
फिल्ममा पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरूङ, सञ्जय गुप्ता दुरा, महिमा नवबाग र आकांक्षा कार्कीको अभिनय रहेको छ।
नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको यो फिल्मले अन्तर्राष्ट्रिय स्तरमै नेपाली सिनेमाको सम्भावना उजागर गरेको छ।


