‘मालती मंगले’ मा समावेश ‘चुड्का भजन’ गीत सार्वजनिक


काठमाडौं। प्रदर्शनको तेस्रो दिनमा आइपुग्दा घरेलु बक्सअफिसमा राम्रो व्यापार गरिरहेको नेपाली चलचित्र ‘मालती मंगले’को निर्माण पक्षले नयाँ सांगीतिक कोसेली सार्वजनिक गरेको छ। निर्माण टोलीले चलचित्रमा समावेश ‘चुड्का भजन’ बोलको भिडियो गीत दर्शकमाझ ल्याएको हो।

सार्वजनिक ‘चुड्का भजन’मा पुरुषोत्तम ढुंगेलको शब्द रचना रहेको छ भने किरण भुसाल लगायतको स्वर सुन्न सकिन्छ। किरण भुसालकै संगीत निर्देशन रहेको यस गीतमा परम्परागत चुड्का लयको आकर्षक प्रयोग गरिएको छ। गीतको तालबाजा (पर्कसन)मा किरण भुसाल र रायपुर समुदायले साथ दिएका छन् भने मादल, मुजुरा र खैँजडीमा सन्देश पौडेलको उत्कृष्ट प्रस्तुति छ। गोविन्द पी.के. आँशु, अच्युत कडेल, सञ्जय (सपुत मोक्तान), राहुल मोक्तान, दिनेश लामा, ह्वाञ्ची लामा र मोहनको अतिरिक्त स्वर रहेको यस भजनलाई रिदम कँडेलले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। निर्देशक पाण्डेय स्वयंको कथा रहेको चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको अभिनय रहेको छ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्। महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको यस चलचित्रलाई आरआर फिल्म्सले देशभर वितरण गरिरहेको छ। दर्शकबाट प्राप्त मायाले चलचित्रको बक्सअफिस यात्रा आगामी दिनमा थप रफ्तारमा अगाडि बढ्ने निश्चित देखिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.