‘मितज्यू’ मा टेरियाको डबल धमाका, नृत्यसँगै अभिनयमा पनि नयाँ अवतार


काठमाडौं । जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मितज्यू’ले दर्शकलाई मनोरञ्जन, भावना र संस्कृतिको संगम प्रस्तुत गर्ने निर्माण टिमको दाबी छ । सामाजिक कथावस्तुसँगै मनोरञ्जनलाई पनि उत्तिकै महत्त्व दिँदै निर्माण गरिएको यस चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जनको अनुभूति गराउने विश्वास गरिएको छ ।
यही सोचलाई आत्मसात गर्दै निर्माण टिमले नेपाल र भारतभर आफ्नो नृत्य प्रतिभाले अलग पहिचान बनाएकी टेरिया मगरलाई चलचित्रको प्रमुख भूमिकामा प्रस्तुत गरेको छ । ‘मितज्यू’मा टेरिया केवल गीत–नृत्यमा सीमित छैनन्, बरु कथाको महत्वपूर्ण पात्रका रूपमा देखिँदैछिन् । सार्वजनिक सामग्रीहरूले पनि उनको भूमिकालाई विशेष रूपमा स्थापित गरिसकेका छन् ।

टेरियालाई दर्शकले पहिलोपटक ठूलो पर्दामा अभिनय गर्दै देख्न पाउने भएका छन् । उनको आकर्षक नृत्य त चलचित्रको विशेष पक्ष भइहाल्यो, त्यससँगै अभिनय क्षमताको नयाँ पाटो पनि दर्शकमाझ खुल्ने निर्माण पक्षको विश्वास छ । यस अर्थमा ‘मितज्यू’ टेरियाको करिअरकै विशेष चलचित्र बन्ने देखिएको छ ।

गत वर्ष ‘घर ज्वाइँ’मार्फत सफलताको स्वाद चाखेका निर्देशक अनिल बुढा मगरले निर्देशन गरेको ‘मितज्यू’ ग्रामीण परिवेश, सम्बन्ध र संस्कृतिको कथामा आधारित छ । चलचित्रमा टेरियासँगै दयाहाङ राई र सौगात मल्लको दमदार अभिनय रहेको छ ।

यसका साथै खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछाने लगायत कलाकारको पनि अभिनय रहेको छ ।

जनक घर्ती मगरले निर्माण गरेको चलचित्रमा शिशिर बिशंखेको सिनेमेटोग्राफी र लोकेश बज्राचार्यको सम्पादन रहेको छ । नेपाली गाउँघरको मौलिक कथा बोकेको ‘मितज्यू’ दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त देखिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.