
काठमाडौँ। शन्त कुमार राईको शब्द रचनामा तयार गरिएको ‘बेरंगी’ बोलको म्युजिक भिडियो एसआरके पिक्चर्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
करिब एक दशकदेखि बेलायतमा रहँदै आएका राई नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय छन्। उनले बेलायतमै दर्जनभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् भने केही छोटो चलचित्रमा कथा लेखन, निर्देशन तथा अभिनयसमेत गरिसकेका छन्। उनले लेखेका गीतहरूमध्ये ‘बेरंगी’ पहिलोपटक रेकर्ड गरिएको गीत हो।
गीतमा देबेश राईको संगीत, कम्पोजिसन, एरेन्ज, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ। स्वर प्रशान्त शिवाकोटीको रहेको छ भने उनलाई सशिका राईले साथ दिएकी छन्। गीतको रेकर्डिङ रंगकासु राई स्टुडियोमा गरिएको हो।
भिडियोको निर्देशन किरण राईले गरेका छन्, जसको कथा पनि उनकै हो। व्यस्त निर्देशकका रूपमा चिनिएका राईले केही ठूला पर्दाका चलचित्रसमेत निर्देशन गरिसकेका छन्। उनका थुप्रै म्युजिक भिडियोहरू दर्शकमाझ लोकप्रिय छन्। भिडियोमा स्वयं शान्त कुमार राईसँगै अञ्जना थुलुङ, राजन कुमार राई र विश्व राईको अभिनय देख्न सकिन्छ। छायांकन, सम्पादन तथा कलर इसाक जबेगुले गरेका छन्। सार्वजनिक भएको छोटो समयमै भिडियोले सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएको छ।


