अस्ट्रेलियामा बनेको ‘मोक्ष’को ट्रेलर सार्वजनिक


काठमाडौं । अस्ट्रेलियामा निर्माण गरिएको नेपाली साइन्स फिक्सन फिल्म ‘मोक्ष (Mokshya)’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाएको छ ।

सुबर्ण पौडेलको लेखन तथा निर्देशनमा बनेको ५५ मिनेट लामो यो फिल्मले साइन्स फिक्सन र हिन्दू मिथोलोजीलाई संयोजन गर्दै पोस्ट–अपोक्यालिप्टिक शैलीमा कथा प्रस्तुत गरेको छ । फिल्ममा विनाशको संघारमा पुगेको भविष्यको संसार देखाइएको छ, जहाँ अमर पात्र कर्णलाई मानवताको भविष्य निर्धारण गर्ने शक्तिशाली ‘स्यामन्तक मणि’ खोज्ने जिम्मेवारी दिइन्छ ।

कोभिड–१९ पछि छायांकन सुरु गरिएको फिल्म युवा फिल्मकर्मीहरूको समूहले आफ्नै लगानीमा निर्माण गरेका हुन् । कम बजेटमै तयार गरिएको यस फिल्ममा भिजुअल इफेक्ट्स (VFX)लाई विशेष प्राथमिकता दिइएको छ । भिएफएक्स कलाकार आशिम शाक्यले यसमा काम गरेका छन् ।

फिल्ममा सौरव पौडेल, सागर उपमन्यु ढकाल, सञ्जु केसी, राजीव त्वायना, उपेन्द्र अर्याल, पूजन भण्डेल, शिखा उप्रेती र सुवास चन्दको अभिनय रहेको छ । निर्माता गौरव कंडेल हुन् ।

ट्रेलर सार्वजनिक भएसँगै विशेषगरी युवापुस्ताबाट फिल्मको भिजुअल र प्रस्तुति प्रशंसा भइरहेको छ । फरक विधामा बनेको फिल्म भएकाले यसले नेपाली फिल्म क्षेत्रमा नयाँ प्रयोगको संकेत गरेको छ ।

फिल्म ‘मोक्ष’ काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २३औँ संस्करणअन्तर्गत मे २७ देखि ३१ सम्म प्रदर्शन गरिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.