विपिन कार्की र केकी अधिकारी अभिनीत फिल्म ‘काजी’को दोस्रो पोस्टर सार्वजनिक


काठमाडौं । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आइतबार निर्माण टिमले फेसबुकमार्फत फिल्मको दोस्रो पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी प्रेमिल भावमा एकअर्कालाई अँगालो हालिरहेको देखिन्छन् । पोस्टरले फिल्म गहिरो प्रेम, सम्बन्ध र जीवन संघर्षमा केन्द्रित रहेको संकेत गरेको छ ।

पोस्टरमा विपिन कार्की परम्परागत ढाका टोपी, सर्ट र गञ्जीमा देखिएका छन् भने केकी अधिकारी रातो सारी, हरियो ब्लाउज, सिन्दूर र टीकासहित प्रस्तुत भएकी छन् । यसले नेपाली संस्कृति र पारिवारिक सम्बन्धको झल्को दिएको छ ।

पृष्ठभूमिमा गाउँघरको वातावरण, तोरी फुलेको खेत र पुरानो शैलीको घर देखिन्छ, जसले फिल्म ग्रामीण परिवेशमा आधारित रहेको अनुमान गर्न सकिन्छ । पोस्टरको रंग संयोजन र सिनेम्याटिक प्रस्तुति दर्शकबीच उत्सुकता बढाउने खालको छ ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्म लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । निर्माण पक्षका अनुसार फिल्म सामाजिक र भावनात्मक कथामा आधारित छ, जसले प्रेम, पीडा, जिम्मेवारी र मानवीय सम्बन्धका विविध पक्ष उजागर गर्नेछ ।

फिल्ममा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय रहेको छ ।

यसअघि फिल्मको पोस्टर र प्रीभ्यू सार्वजनिक भइसकेको छ, जसलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । निर्माण टिमले छिट्टै ट्रेलर तथा अन्य प्रचार सामग्री सार्वजनिक गर्ने जनाएको छ ।

रिजाल एन्ड रिजल प्रोडक्सनको ब्यानरमा बनेको फिल्म प्रदीप भारद्धाजले लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रंग संयोजन, सुजिल कर्माचार्यको पार्श्व संगीत, कविराज गहतराजको नृत्य निर्देशन, प्रकाश हमालको प्रोडक्सन हेड, बनिश शाह र विपिन मल्लको सम्पादन रहेको छ ।

असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मका निर्माता नेहान रिजाल र विकास राज जोशी हुन् । फिल्म श्रीराम बालाजी फिल्म्सले देशव्यापी रूपमा वितरण गर्नेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.