
काठमाडौं। आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लालीबजार’को तेस्रो गीत ‘मै राम्री छु त नी’को छोटो अंश सार्वजनिक गरिएको छ । षट्कोण आर्ट्सले आफ्नो युट्युब च्यानलमार्फत गीतको झलक सार्वजनिक गरेको हो ।
गीतमा दीपिका बयम्बू मगरको स्वर छ भने कोरसमा रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको स्वर समावेश छ । प्रकाश सपुतको शब्द र संगीत रहेको गीतमा प्रदीप लामाको कोरियोग्राफी छ ।
सार्वजनिक भिडियोमा स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ र जानकी कडायत देखिएका छन् । गीतमा नारी सुन्दरताको चित्रण गरिएको छ र स्वस्तिमा केन्द्रमा प्रस्तुत छन् । क्लिप सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा प्रयोग हुन थालेको छ ।
गीतको पूर्ण संस्करण फिल्म प्रदर्शनसँगै हलमा हेर्न पाइने निर्माण पक्षले जनाएको छ । यसअघि सार्वजनिक ट्रेलर युट्युबको मुभी चार्टमा दोस्रो स्थानमा ट्रेन्डिङमा छ ।
आमा–छोरीको कथामा आधारित फिल्मले बादी समुदायमा रहेको ‘नाथिया’ जस्तो कुप्रथालाई उठान गरेको छ । स्वस्तिमा खड्का फिल्ममा आमाको भूमिकामा छिन् ।
यम थापाको निर्देशनमा बनेको फिल्मको कथा तथा पटकथा थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । षट्कोण आर्ट्सले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरिसकेको छ ।
फिल्ममा विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् । स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको फिल्म बर्दियाको राजापुरमा छायांकन गरिएको हो ।
म्याक्स दीपेश खत्री र रवीन्द्र सिंह बानियाँ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् । फिल्ममा प्रकाश सपुत, खेम सेन्चुरी र जयन जे वाइबाको संगीत रहेको छ ।


