केकी अधिकारीको नयाँ फिल्म ‘स्टेशन’को शुभमुहूर्त, भदौ १९ मा रिलिज हुने


काठमाडौं । पछिल्लो समय फिल्म ‘बोक्सीको घर’ मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ फिल्म ‘स्टेशन’को निर्माण कार्य औपचारिक रुपमा सुरु गरेकी छिन् ।

सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा फिल्मको शुभमुहूर्त गरिएको हो ।

मुहूर्त कार्यक्रममा फिल्मका निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो ।

अभिनेत्री केकी अधिकारीले नयाँ वर्षको अवसर पारेर यो फिल्म निर्माणको घोषणा गरेकी थिइन् । निर्माण घोषणासँगै सार्वजनिक गरिएको ‘थिम पोस्टर’ले फिल्मको विषयवस्तुप्रति दर्शकमाझ कौतुहलता जगाएको छ । पोस्टरमा एउटा पुरानो काठको दराज र त्यहाँभित्र केही रहस्यमय सामग्रीहरू देखिन्छन् । यसले फिल्म सोसल ड्रामामा आधारित रहने संकेत गरेको छ ।

२०८१ सालको सफल फिल्म ‘बोक्सीको घर’ पछि केकीले सोही टिमसँगको सहकार्यलाई ‘स्टेशन’मा पनि निरन्तरता दिएकी छिन् ।

केकी अधिकारी फिल्मसको ब्यानरमा निर्माण हुने यस फिल्मलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । फिल्मको कथा पनि स्वयं भारतीकै रहेको छ । फिल्मका निर्माता बद्री अधिकारी हुन् ।

फिल्मको मुहूर्त गरिए पनि निर्माण पक्षले यसमा अभिनय गर्ने कलाकारहरूको बारेमा भने अझैसम्म केही खुलाएको छैन । ‘स्टेशन’मा कुन-कुन कलाकारले मुख्य भूमिका निर्वाह गर्नेछन् भन्ने कुरालाई गोप्य राख्दै निर्माण टिमले दर्शकमाझ कौतुहलता कायम राखेको छ ।

केकी आफैं फिल्ममा देखिनेछिन् वा निर्मात्रीको रुपमा मात्र रहनेछिन् भन्ने विषय पनि अझै प्रस्ट भइसकेको छैन ।

तेस्रो सातादेखि छायांकन सुरु गरिने तयारीमा रहेको यो फिल्म आगामी भदौ १९ गते देशभरका सिनेमाघरमा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ ।

‘बोक्सीको घर’ जस्तो सामाजिक र गम्भीर विषयवस्तुलाई दर्शकले रुचाएका कारण केकीको यो नयाँ प्रोजेक्ट ‘स्टेशन’लाई पनि निकै प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.