‘जेरी : द लास्ट क्लाइम्ब’मा अनमोलको इन्ट्री


काठमाडौँ । अभिनेता अनमोल केसी फिल्म ‘जेरी’को नयाँ श्रृंखलामा देखिने भएका छन् । निर्माण स्रोतका अनुसार बुधबार बिहान अनमोल र निर्माण टिमबीच फिल्मका लागि लिखित सम्झौता भएको हो ।

फिल्मको शीर्षक ‘जेरी : द लास्ट क्लाइम्ब’ तय गरिएको छ । यसमा अनमोल केसीबाहेक अन्य कलाकार भने हालसम्म निश्चित भइसकेका छैनन् । अघिल्लो श्रृंखलामा रहेका आँचल शर्मा र जसिता गुरुङ दोहोरिने वा नदोहोरिनेबारे पनि स्पष्ट भएको छैन ।

निर्देशन भने सुयोग गुरुङले नै गर्नेछन् । फिल्मको पटकथा ब्रजेश खनालले लेखिरहेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘काकु र भतिजा’बीच नयाँ सहकार्य हुन लागेको संकेत दिएका छन् ।

ब्रजेशले लेखेका छन्, “काकु र भतिजाको फेरि एउटा नयाँ सिनेमाका लागि सहकार्य हुँदैछ । विस्तृत जानकारी निर्माण पक्षले समयमै सार्वजनिक गर्नेछ । नयाँ वर्षमा सुरु भएको यस परियोजनाले सफलताको नयाँ मानक स्थापित गर्ने विश्वास छ ।”

निर्माण टिमका अनुसार फिल्मको पटकथा आगामी दुई–तीन महिनाभित्र पूरा हुनेछ ।

हाल अनमोल केसी ‘बाटुलो जुन’को छायांकनमा व्यस्त छन् । वैशाख २२ गतेसम्म उक्त फिल्मको सुटिङ सकिने जनाइएको छ । त्यसपछि उनी सम्भवतः ‘ए मेरो हजुर’को नयाँ श्रृंखलामा व्यस्त हुनेछन् ।

त्यसपछिमात्र ‘जेरी’को नयाँ श्रृंखलाको काम अघि बढ्ने बुझिएको छ । ‘जेरी अन टप’ अनमोल केसीको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.