
काठमाडौं। नीता ढुङ्गानाको निर्देशन तथा निर्माणमा बन्न लागेको फिल्म ‘पार्वती’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ। मंगलबार कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका मिर्सा गाउँमा विधिवत् शुभारम्भ गर्दै फिल्मको सुटिङ अघि बढाइएको हो।
फिल्ममा निर्देशक ढुङ्गाना स्वयं मुख्य भूमिकामा देखिनेछिन्। उनका साथै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारहरूको अभिनय रहनेछ। कार्यकारी निर्माता शंकर पाण्डेका अनुसार यतिबेला सम्पूर्ण टिम सुटिङमै व्यस्त छ।
फिल्म ‘पार्वती’को कथा तथा पटकथा स्वयं नीता ढुङ्गानाकै रहेको छ भने स्क्रिप्ट शिवम् अधिकारीले तयार पारेका हुन्। सुदीप बरालले छायांकन सम्हालेका छन् भने सरोज अधिकारी क्रियटिभ निर्देशकका रूपमा आबद्ध छन्।
निर्माण पक्षमा हरिहर अधिकारी निर्माता रहेका छन् भने प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता शंकर पाण्डे हुन्। निर्माण टिमले फिल्मलाई आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरेको छ। निर्धारित मितिमै रिलिज गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको निर्देशक ढुङ्गानाले बताएकी छन्। उनका अनुसार फिल्मको छायांकन करिब एक महिनामा सम्पन्न गर्ने योजना रहेको छ।


