अनमोलको जन्मदिनमा ‘बाटुलो जून’ प्रदर्शन घोषणा


काठमाडौं । सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘बाटुलो जून’को प्रदर्शन घोषणा  गरिएको छ । प्रमुख अभिनेता अनमोल केसीको सोमबार परेको जन्मदिनको अबसरमा पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्र आगामी वर्ष २०८३ को दशैंको फुलपातीको छेकोमा (असोज ३०, अक्टोबर १६) मा रिलिज हुने सार्वजनिक जानकारी गराएको हो ।

सार्वजनिक अचल प्रचार सामग्रीमा अनमोल र अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन् । पूर्णिमाको टहलाउँदो जूनलाई पृष्ठभूमीमा राखिएको पोस्टरमा अनमोलले एक हातमा तत्कालिन परिवेशको प्रकाशको प्रतिविम्व राँको बोक्दा  अर्को हातले प्रिन्सीको पाउजुसहितको खुट्टा समाएका छन् ।

पोस्टर सार्वजनिक गर्दै अनमोलले जन्मदिनमा माया गर्नेहरूको लागि उपहार भन्दै ‘दशैंमा भेटौंला’ सन्देश छोडेका छन् । करियरको सुरूवातदेखि नै दर्शक तथा शुभचिन्तकहरूबाट प्राप्त प्रेमप्रति आभार प्रकट गर्दै अनमोलले ‘आफु सधैं राम्रो काममा ताली र कमजोरीमा खबरदारीको प्रतिक्षामा रहने’ बताए ।

ग्रामिण परिवेशको प्रेमकथा जोडिएको चलचित्रको निर्माता जीया केसी र भविष्य खड्का हुन् । ‘चलचित्र हेरिरहँदा दर्शकले आफुलाई ३० वर्ष पहिलेको नेपाली समाजमा पाउनुहुनेछ, साथमा वर्तमानको आभाष उत्तिकै हुनेछ’, निर्माता केसीले भनिन् । जीवनको कुनै न कुनै समयमा प्रेमको स्पर्श गरेका जुनसुकै वर्गका दर्शकको लागि यो चलचित्र समर्पित छ’, उनले थपिन् । टौवा कृयसनको तर्फबाट विजय बस्यालले तयार पारेको पोस्टरले केसीले भनेजस्तै छनक दिन्छ ।

अनमोल विगतका चलचित्रहरूमा देखिँदै आएको भन्दा विल्कुल पृथक अबतारमा प्रस्तुत छन् । यो चलचित्रलाई अनमोल पिता अभिनेता भुवन केसीले निर्देशन गरेका हुन् । भुवन आफैपनि चलचित्रमा प्रमुख भुमिकामा छन् ।

‘बाटुलो जून’मा भुवन, अनमोल र प्रिन्सीसँगै नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय समावेश छ ।

यो चलचित्रलाई काठमाडौ, म्याग्दी, नुवाकोट, चित्लाङ र पोखरा लगायतका स्थानमा छायांकन गरिएको छ । चलचित्रमा तेजबिक्रम केसी कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ ।

प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको चलचित्रमा छायांकन राजेश श्रेष्ठको रहेको छ । फिल्मको करिब १० प्रतिशत छायांकन बाँकी रहेको र यहिँ नयाँवर्ष २०८३ को छेकोमा पोखरामा सेड्यूअल लक गरिएको कार्यकारी निर्माता तेजविक्रम केसीले बताए ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.