‘यानीमाया’को फस्टलुक सार्वजनिक, पल र अञ्जनाको प्रेमिल जोडी


काठमाडौं । अभिनेता पल शाह अब निर्माण क्षेत्रमा पनि लाग्ने भएका छन् । उनको प्रस्तुतिमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘यानीमाया: रिदम अफ लभ’ को फस्टलुक सार्वजनिक गरिएको छ।

निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी जेठ १ गतेबाट सुरु गर्ने तयारी गरिएको छ । सार्वजनिक फस्टलुक पोस्टरलाई रोयल भिमसेनले डिजाइन गरेका हुन्, जसले फिल्मको प्रेमिल भावनालाई आकर्षक रूपमा प्रस्तुत गरेको छ।

फिल्ममा पल शाहसँगै नव–नायिका अञ्जना मगरको जोडी देखिने पक्का भएको छ । यी दुई कलाकार यसअघि म्युजिक भिडियोमार्फत दर्शकमाझ लोकप्रिय भइसकेका छन्, र अब पहिलो पटक फिल्ममा एकसाथ देखिन लागेका हुन्।

चलचित्रको निर्देशन ओम प्रतिकले गर्दैछन् । यसअघि उनले निर्देशन गरेको फिल्म ‘मोहर’ मा पनि पल शाह मुख्य भूमिकामा थिए, जसलाई दर्शकले निकै मन पराएका थिए । सफल सहकार्यपछि ओम र पलको यो दोस्रो संयुक्त प्रोजेक्ट हो।

फिल्ममा पल शाहसँगै चन्द्र ज्योती आलेको लगानी रहनेछ । ‘यानीमाया’लाई ‘प्रेमको धुन’को रूपमा प्रस्तुत गरिने बताइएको छ, जसले यसको कथा प्रेमकेन्द्रित हुने संकेत गर्छ।

निर्माण पक्षले फिल्मसँग सम्बन्धित अन्य विवरणहरू क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ । यस वर्ष पल शाह अभिनीत ‘मोहर’ र ‘आ बाट आमा’ रिलिज भइसकेका छन्, जसले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.