
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले चलचित्र विकास बोर्डले दुई महत्वपूर्ण तालिम कार्यक्रम एकैसाथ सुरु गरेको छ। बोर्डद्वारा आयोजित दुई दिने ‘एआई फिल्ममेकिङ’ तालिम र १० दिने ‘ड्रोन’ तालिम आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका हुन्। यी दुवै कार्यक्रममार्फत कुल १७६ जना सहभागी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
नेपाल एआई फिल्म अलायन्स (NAIFA) को सहकार्यमा सञ्चालन भइरहेको ‘एआई फिल्ममेकिङ’ तालिममा १५१ जनाको उल्लेखनीय सहभागिता रहेको छ। “Cinematic AI: From Script to Screen with Artificial Intelligence” शीर्षकमा सञ्चालन भइरहेको यस तालिममार्फत सहभागीहरूलाई कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगबाट कथा लेखन, स्टोरीबोर्ड निर्माण, भिडियो उत्पादन तथा डिजिटल फिल्म निर्माणका नवीन प्रविधिबारे प्रशिक्षण प्रदान गरिनेछ। तालिममा करुण थापा, मौसम पुरी,शिव पुरी लगायतले सहजीकरण गर्नेछन्।
यसैगरी, बोर्डको रजत वर्षको अवसरमा आयोजना गरिएको १० दिने ड्रोन तालिममा २५ जना सहभागी चयन गरिएको छ। चलचित्र छायांकनमा ड्रोन प्रविधिको प्रभावकारी प्रयोगलाई केन्द्रमा राख्दै सञ्चालन गरिएको यस तालिममा भारतको वायुरगाथा ड्रोन कम्पनीका प्रशिक्षक मथि शर्मा जी, मणिभारथ वी र पार्थसारथी बीले प्रशिक्षण दिनेछन्। साथै नेपालका अनुभवी प्रशिक्षकहरू—प्रविन भट्टराई (ड्रोन हव नेपालका सञ्चालक तथा लुम्बिनी विश्वविद्यालयका ड्रोन विभाग प्रमुख), प्रभु एयरका पाइलट क्या पाल्देन शेर्पा, इन्स्पेक्टर रमेश शाह, आदर्श राज भुसाल र शाश्वत रिजालको समेत सहभागिता रहनेछ।

मानवरहित विमान संघ (उडान) को सहकार्यमा आयोजना गरिएको ड्रोन तालिमको उद्घाटन समारोहमा उडानका अध्यक्ष राजभाई सुवाल तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्थिति रहेको थियो।
चलचित्र विकास बोर्डका अनुसार यस्ता तालिम कार्यक्रमहरूले नेपाली फिल्म उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास गरिएको छ। पछिल्लो समय बोर्डले एआई, ड्रोन, साउन्ड तथा डिजिटल प्रविधिमा केन्द्रित तालिमहरू सञ्चालन गर्दै नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने प्रयास गरिरहेको जनाएको छ।


