तुलसी घिमिरे निर्देशित ‘पहाड’को टिजर सार्वजनिक


काठमाडौँ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को टिजर सार्वजनिक गरिएको छ । आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँवर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।

‘फिल्मको पटकथा तयार गर्दा देखिएका पात्रमा फिट हुने भएपछि पुरानो सहकार्यलाई पुनः ताजा गरौँ भनेर मैले प्रस्ताव गरें । मेरो प्रस्तावमा सम्पूर्ण कलाकारले सहमति जनाउनु भयो, पुरानो समयलाई स्मरण गर्दै नयाँ उत्साहका साथ काम गरेका छौँ । यसपटक दर्शकसँगै यो फिल्म घर, परिवार र समाजसम्म विचारको रुपमा पुग्छ भन्नेमा विश्वस्त छु’, निर्देशक घिमिरेले भने ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउदैछन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

फिल्ममा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक रहेका छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता रहेका छन् । उक्त फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् । फिल्ममा कविराज गहतराज र मिङमा डी. लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.